राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीले सात प्रकारका सीपमूलक तालिम निःशुल्क सञ्चालन गर्ने भएको छ।
केन्द्रले सार्वजनिक सूचना जारी गर्दै योग्य तथा इच्छुक नेपाली नागरिकलाई २०८३ भदौ २ गतेसम्म आवेदन दिन आह्वान गरेको हो। केन्द्रका अनुसार टेलरअन्तर्गत बेसिक कटाइ–सिलाइ, कुक, सहायक ब्युटिसियन, एडभान्स कटाइ–सिलाइ, बिल्डिङ इलेक्ट्रिसियन, बारिष्टा र केयर गिभर विषयमा तालिम सञ्चालन हुनेछ। प्रत्येक विधामा २० जनाका दरले कुल १४० जना प्रशिक्षार्थी छनोट गरिने जनाइएको छ।
एडभान्स कटाइ–सिलाइको तालिम ३३ कार्यदिन अर्थात् १९५ घण्टाको हुनेछ। बाँकी छवटा तालिम ६५ कार्यदिनमा ३९० घण्टा सञ्चालन गरिनेछन्। तालिम दैनिक ६ घण्टाका दरले चल्ने र शनिबारबाहेक सार्वजनिक बिदाका दिनमा समेत कक्षा सञ्चालन हुन सक्ने सूचनामा उल्लेख छ।
बेसिक कटाइ–सिलाइ, कुक र सहायक ब्युटिसियनका आवेदकले कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ। एडभान्स कटाइ–सिलाइका लागि कक्षा ८ उत्तीर्णसँगै मान्यता प्राप्त संस्थाबाट सम्बन्धित आधारभूत तालिम लिएको प्रमाणपत्र पनि आवश्यक पर्नेछ।
बिल्डिङ इलेक्ट्रिसियन, वारिष्टा र केयर गिभर तालिममा सहभागी हुन एसएलसी, एसईई वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ। आवेदन दिने व्यक्तिको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।
प्रशिक्षार्थीको छनोट अन्तर्वार्ताबाट गरिने केन्द्रले जनाएको छ। केही विषयका अन्तर्वार्ताको मिति सूचनामै उल्लेख गरिएको छ भने बारिष्टा र केयर गिभरको अन्तर्वार्ता मिति पछि तय गरिनेछ। छनोट भएका व्यक्तिले तालिम सुरु भएको तीन दिनभित्र उपस्थित नभए वैकल्पिक उम्मेदवारलाई अवसर दिइनेछ।
आवेदनसँगै नेपाली नागरिकताको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइजको फोटो तथा शैक्षिक योग्यताका प्रमाणपत्र बुझाउनुपर्नेछ। एडभान्स कटाइ–सिलाइका आवेदकले आधारभूत तालिम लिएको प्रमाणपत्रसमेत पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
तालिम अवधिभर प्रशिक्षार्थीलाई दैनिक ५० रुपैयाँ खाजा भत्ता उपलब्ध गराइनेछ। आवास र खानाको प्रबन्ध भने सहभागी आफैंले गर्नुपर्नेछ। केन्द्रले आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका आवेदकलाई प्राथमिकता दिने जनाएको छ। विपन्न, दलित, अपाङ्गता भएका व्यक्ति, शहीद परिवार, जनआन्दोलनका घाइते तथा शहीद परिवार, एकल महिला र पिछडिएका क्षेत्रका व्यक्तिलाई छनोटमा प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
आवेदन फाराम व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीमै प्राप्त गरी बुझाउन सकिनेछ। तालिम पनि केन्द्रको इटहरीस्थित परिसरमा सञ्चालन हुनेछ। थप जानकारीका लागि कार्यालय समयभित्र ०२५–५८१०१६ मा सम्पर्क गर्न वा केन्द्रको वेबसाइट तथा ‘Vocational Training Centre, Itahari’ फेसबुक पेज हेर्न सकिने जनाइएको छ।
















