नेपाल आयल निगमले धादिङमा रहेको श्रीराम ग्यास उद्योगलाई ललितपुरको हरिसिद्धि गोदाममा थन्क्याइएका ग्यास सिलिन्डर सीमित सर्तसहित बजारमा पठाउन अनुमति दिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको संयुक्त अनुगमनका क्रममा सो गोदाममा ६ हजार ३ सय ७७ थान सिलिन्डर मौज्दात रहेको भेटिएपछि निगमले वितरण प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।
निगमका अनुसार ती १४.२ किलो तौलका सिलिन्डरमध्ये करिब ६ हजार थान उद्योगका आधिकारिक डिलरमार्फत निगमको निगरानीमा बजारमा पठाइनेछन्। बाँकी ३ सय ७७ थान भने निगमकै टेकुस्थित कार्यालयबाट उपभोक्तालाई उपलब्ध गराइने व्यवस्था गरिएको छ।
बिक्री प्रक्रियालाई पारदर्शी र उपभोक्ता हितमैत्री बनाउन निगमले उद्योगलाई कडाइका साथ निर्देशन दिएको छ। प्रत्येक सिलिन्डरको तौल जाँच र निर्धारित मूल्यमा मात्र बिक्री गर्नुपर्ने स्पष्ट व्यवस्था गरिएको छ।
यस्तै, उद्योगलाई नयाँ सिलिन्डर बजारमा ल्याउन पूर्ण रोक लगाइएको छ भने अन्य कम्पनीका सिलिन्डरसँग साटफेर गर्न पनि नपाइने व्यवस्था गरिएको छ।
दैनिक बिक्री–वितरणको विवरण नियमित रूपमा निगममा बुझाउनुपर्ने प्रावधान राखिएको छ। समग्र प्रक्रिया प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय र विभागलाई समेत जानकारी गराइएको निगमले जनाएको छ।











