संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम) ले पर्यटन, ट्रेकिङ, होटल तथा पाककलासम्बन्धी छ प्रकारका तालिमका लागि आवेदन खुलाएको छ। प्रतिष्ठानले आगामी भदौ र असोज महिनादेखि सञ्चालन गर्ने तालिममा सहभागी हुन योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो।
प्रतिष्ठानले ट्रेकिङ गाइडमा ५०० जना, ट्रेकिङ पोर्टर गाइडमा ११० जना, बेसिक फुड प्रिपरेसन (कुक) मा ४० जना, बेकरीमा ४० जना, बारिस्तामा २० जना र एकवर्षे डिप्लोमा इन कुलिनरी आर्ट्समा ४४ जना गरी कुल ७५४ जनालाई तालिम प्रदान गर्ने जनाएको छ।
पाँच हप्तासम्म सञ्चालन हुने ट्रेकिङ गाइड तालिमको शुल्क १० हजार रुपैयाँ तोकिएको छ। यसका लागि प्लस टु वा सोसरह उत्तीर्ण व्यक्तिले आवेदन दिन सक्नेछन्। एसईई उत्तीर्ण गरी दर्तावाला ट्रेकिङ एजेन्सीमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव भएका तथा ट्रेकिङ पोर्टर गाइड तालिम लिएर लाइसेन्स प्राप्त गरेपछि चार वर्ष काम गरेका व्यक्तिले पनि आवेदन दिन पाउनेछन्। यसको आवेदन दिने अन्तिम मिति साउन २९ गते रहेको छ भने तालिम भदौ ८ गतेदेखि सुरु हुनेछ।
ट्रेकिङ पोर्टर गाइड तालिममा सहभागी हुन कुनै एक अन्तर्राष्ट्रिय भाषा बुझ्न र सामान्य सञ्चार गर्न सक्ने क्षमता हुनुपर्नेछ। साथै, ट्रेकिङ क्षेत्रमा पोर्टरका रूपमा कम्तीमा दुई वर्ष काम गरेको अनुभव र एसईई वा सोसरहको परीक्षामा सहभागी भएको हुनुपर्ने व्यवस्था गरिएको छ। १५ दिनसम्म चल्ने यस तालिमको शुल्क तीन हजार पाँच सय रुपैयाँ छ। आवेदन साउन २९ गतेसम्म दिन सकिनेछ भने तालिम भदौ १० गतेदेखि सुरु हुनेछ।
एसईई वा सोसरह उत्तीर्ण व्यक्तिले बेसिक फुड प्रिपरेसन, बेकरी र बारिस्ता तालिममा आवेदन दिन सक्नेछन्। तीनमहिने बेसिक फुड प्रिपरेसन तालिमको शुल्क ३० हजार रुपैयाँ तथा एकमहिने बेकरी र बारिस्ता तालिमको शुल्क प्रतिव्यक्ति २५ हजार रुपैयाँ तोकिएको छ। यी तालिमका लागि भदौ २ गतेसम्म आवेदन दिनुपर्नेछ र अन्तर्वार्तापछि छनोट भएकाको तालिम असोज १ गतेदेखि सञ्चालन हुनेछ।
त्यस्तै, एकवर्षे डिप्लोमा इन कुलिनरी आर्ट्समा ४४ जनालाई सहभागी गराइनेछ। एसईई वा सोसरह उत्तीर्णले आवेदन दिन सक्ने उक्त तालिमको शुल्क दुई लाख ५० हजार रुपैयाँ रहेको छ। आवेदन दिने अन्तिम मिति भदौ १७ गते तोकिएको छ भने तालिम असोज १२ गतेदेखि सुरु हुनेछ।
प्रतिष्ठानका अनुसार वारिस्ता तालिम सञ्चालन हुन कम्तीमा १० जना आवेदक हुनुपर्नेछ। बेकरी र बेसिक फुड प्रिपरेसन तालिममा कम्तीमा २०–२० जना तथा एकवर्षे कुलिनरी आर्ट्स डिप्लोमामा कम्तीमा २२ जना आवेदक भएमा मात्र तालिम सञ्चालन गरिनेछ।
आवेदन फारामसँग हालसालै खिचिएका दुई प्रति पासपोर्ट साइजका फोटो, नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभव आवश्यक पर्ने तालिमका लागि अनुभव प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ। प्रत्येक तालिमका लागि आवेदन फाराम दस्तुर एक हजार रुपैयाँ तोकिएको छ। रकम प्रतिष्ठान परिसरमा रहेको सिटिजन्स बैंक इन्टरनेसनलको एक्सटेन्सन काउन्टरमा जम्मा गरी भौचर आवेदनसँग संलग्न गर्नुपर्नेछ।
आवेदन फाराम प्रतिष्ठानको रविभवन, कालिमाटीस्थित कार्यालयबाट प्राप्त गर्न सकिनेछ। फाराम न्याथमको आधिकारिक वेबसाइटबाट पनि डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ।
















