आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ ।
मंगलबार दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण बेलुका ५ बजेर २४ मिनेटमा मोक्ष हुने ज्योतिषी सुरेशचन्द्र रिजालले जानकारी दिए । ‘मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्दै छ । कात्तिक कुष्ण औंसीको दिन लाग्ने यो ग्रहणलाई चमत्कारी ग्रहण पनि मानिएको छ । पर्व विशेषको कारणले यो ग्रहणको धेरै दोष हुदैन,’ उनले भने ।
दिउँसो ४ बजेर ५२ मिनेटबाट सुरु हुने ग्रहण करिब ३२ मिनेट मात्र लाग्ने भएकाले यसलाई शुभ ग्रहणको रुपमा पनि लिइएको जानकारी दिएका उनले सूर्यास्तसँगै ग्रमण सकिए पनि दोष भने साँझ ७ः३० बजेसम्म रहने बताए । नेपालमा ४ बजेर ५२ मिनेटमा सकिने ग्रहण अन्य देशमा भने साँझ साढे ७ बजेसम्म रहनेछ ।
सूर्य ग्रहणको सूतक १२ घण्टा अगाडिबाटै बार्नुपर्ने भएकाले मंगलबार बिहान ४ बजेर ५२ मिनेटदेखि कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान नहुने शास्त्रीय मान्यता रहेको ज्योतिषी रिजालले बताए । उनका अनुसार १२ घण्टाको अन्तरालमा बालक, वृद्धवृद्धा र अशक्त, बिरामीहरुले भने अन्न खान मिल्नेछ ।
शास्त्रको अनुसार ग्रहणको समयमा खाना र पेय पदार्थहरूमा सूक्ष्म जीवहरू प्रवेश गर्छन्। त्यसैले सुतक लगाउनुअघि खाना, पानी, दूध, दही, तेल, अचार, चटनी आदिमा कुश वा तुलसीको पात राख्नुपर्छ। कुशमा सबै ब्याक्टेरिया जम्मा हुन्छन्, ग्रहण सकिएपछि त्यो कुश निकालेर फाल्नु पर्छ । तुलसीमा ब्याक्टेरियासँग लड्ने र मार्ने अद्भुत क्षमता छ। तुलसीको प्रभावले खाना र पेय पदार्थ प्रदूषणबाट मुक्त रहन्छ।
शास्त्र अनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा पूर्व सूतक प्रारम्भ हुन्छ । त्यसैले कात्तिक ८ गते बिहान ४:५२ देखि नै बालक, वृद्धा, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू सबै विवेकशील प्राणीहरूलाई भोजन निषेध गरिएको छ । ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, भुट्ने, बनाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमि खनन गर्ने, महत्त्वपूर्ण मिटिङ गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य पूर्णरुपमा निषेध हुन्छ ।
















