×
Lagani
Lagani Shiksha gif
३१ वर्षदेखि डडेलधुरा : उही मुद्दा, उही अनुहार , उस्तै चुनावी एजेण्डा।



प्रजातन्त्र बहालीपछिको चुनाव २०४८ वैशाख २९ मा हुँदै थियो।

पहिलो पटक संसदीय राजनीतिमा होमिएका कांग्रेस नेता शेरबहादुर देउवाले दुई दिनअघि डडेलधुरा सदरमुकाम खलंगामा चुनावी अभियानको अन्तिम सभा गरे । ‘राष्ट्रिय पञ्चायतका सदस्यहरूले जस्तो जीवनशैली मैले कहिल्यै अपनाउने छैन । म पनि त्यस्तै विलासी जीवनशैलीमा रमेर डडेलधुरालाई बिर्सेछु भने त्यसपछि मलाई भोटै नदिनू ।’

Lagani Shiksha gif
sharehubapk ३१ वर्षदेखि डडेलधुरा : उही मुद्दा, उही अनुहार , उस्तै चुनावी एजेण्डा।

त्यतिन्जेलसम्म डडेलधुराबाट राष्ट्रिय पञ्चायतमा निर्वाचित धर्मानन्द जोशीबाहेकका गणेशप्रसाद भट्ट, नारायणदत्त भट्ट, लालबहादुर कडायत र कर्णबहादुर भण्डारीको जीवनशैली रवाफ र विलासिताले भरिएको थियो । डडेलधुराबाहेक पनि धनगढी, महेन्द्रनगर, काठमाडौंलगायत स्थानमा घर बनाएर बस्न थालेकाले निराश जनताको भावना बुझेका देउवाले खलंगाको टुँडिखेलमा आयोजित सभामा उनीहरूको नामै लिएर आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यसको ३१ वर्षपछि आज देउवाको जीवनशैली कस्तो छ भन्नेबारे लोक जानकार नै छ । देउवाले अचेल चुनावी सभामा आफ्ना ती दशकौं पुराना वाचा दोहोर्‍याउँदैनन् तर ३१ वर्षमा पनि दोहोर्‍याउन नछाडेका चुनावी एजेन्डा भने प्रशस्तै छन् ।

०४८ सहितका ६ वटै संसदीय निर्वाचन जितेका देउवाले हरेक पटक जिल्लावासीलाई दिँदै आएका आश्वासन हुन्, ‘पश्चिम सेती बनाउँछु, जिल्लामा शिक्षा, स्वास्थ्यको गुणस्तर सुधार्छु, बेरोजगारी अन्त्य गर्छु, विमानस्थल र बसपार्क बनाउँछु, जिल्लाभर स्तरीय सडक सञ्जाल जोड्छु ।’ सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये डडेलधुरामा मात्रै विमानस्थल छैन ।

सातौं पटक संसदीय निर्वाचन (संविधानसभाको पहिलो र दोस्रो निर्वाचनसहित) लड्दै गरेका देउवाले यस पटक पनि यिनै नारा दोहोर्‍याउँदै छन् । साथमा थप्दै छन्, ‘डडेलधुरामै मेडिकल कलेज बनाउँछु, प्रदेश राजधानी पनि सार्छॅ ।’

६ पटक सांसद, एक पटक गृहमन्त्री र पाँच पटक प्रधानमन्त्री बनेका देउवाले आफूलाई पाँच वर्षको ग्रेस मागिरहँदा मतदातामाझ पुनः रुमानी सपना बाँड्दै छन् । तर, उनी आफ्ना प्रतिबद्धताहरूमा अडिएका छैनन् भन्ने उदाहरण उनकै गाउँ गन्यापधुरा गाउँपालिका–१ को मटेला हो ।

देउवाले आफ्नो गाउँ पारिपट्टिको असिग्राम स्कुलमा कक्षा ७ सम्म पढे, त्यसभन्दा माथि पढ्ने व्यवस्था त्यहाँ नभएका कारण उनी थप शिक्षा लिन सीताराम मावि उच्चकोट डोटी पुगेका थिए । मटेलाका तेजबहादुर देउवा अहिले ७४ वर्षका भए । उनले पनि देउवाको पछिपछि असिग्राम स्कुलबाटै शिक्षा लिएका थिए तर ७ कक्षा पास गरेपछि अन्त जान सकेनन् । अहिले उक्त स्कुलमा १२ कक्षासम्म मात्र पढाइ हुन्छ । त्यहाँभन्दा माथि पढाउन तेजबहादुरले आफ्ना नातिलाई धनगढी पठाएका छन् । ‘६५ वर्षमा पनि यहाँ स्कुलको हालत उस्तै छ, मैले पढ्न पाइनँ, नातिलाई पनि नपढाइराख्न त भएन भनेर धनगढी पठाएको छु,’ तेजबहादुर भन्छन् ।

असिग्राम स्कुलको स्तरोन्नति नभएको मात्रै होइन, सिंगो डडेलधुराको शैक्षिक अवस्था राष्ट्रिय अनुपातको तुलनामा न्यून छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार देशको औसत साक्षरता दर ८० प्रतिशतभन्दा बढी छ । तथ्यांक कार्यालय डडेलधुराले ०७४ मा प्रकाशन गरेको जिल्ला वस्तुगत विवरणअनुसार साक्षरता दर ६५.३१ प्रतिशतमात्रै छ ।

मटेलामा द्वन्द्वको समयमा माओवादीले ध्वस्त पारिदिएको देउवाको घरको भग्नावशेष मात्र बाँकी छ । उक्त भग्नावशेषभन्दा तल्तिरको घरमा ८० वर्षकी भानुमती देउवा बस्छिन् । बिरामी अवस्थाकी उनले गाउँनजिक गतिलो अस्पताल नहुँदा उपचार नपाएको दुखेसो पोखिन् । ‘पारिपट्टि अस्पताल (स्वास्थ्यचौकी) छ तर डाक्टर छैनन्, औषधि पनि छैन,’ भानुमतीले डोटेली भाषामा पीडा पोखिन्, ‘अस्पताल टेकेर मात्र रोग निको हुने होइन रहेछ । त्यहाँ गएर मात्र के गर्नू ?’

यस्तो अनुभव भानुमतीको मात्रै होइन । सिंगो जिल्लामा स्वास्थ्यसम्बन्धी सूचांकहरू निराशाजनक छन् । वीर अस्पताललगायत देशभरका ९ वटा संघीय अस्पतालको सूचीमा देउवाले डडेलधुराको अस्पताललाई पनि पारेका छन् तर उक्त अस्पताल आफैंमा बिरामी छ । २९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले एक जना मात्र विशेषज्ञ चिकित्सक कार्यरत छन् । तीन सय शय्याको यो संघीय अस्पतालले अति सामान्य रोगका बिरामीलाई पनि धनगढीस्थित प्रादेशिक अस्पतालमा रेफर गर्छ । अस्पतालको फोहोरमैला व्यवस्थापन ठूलो समस्याका रूपमा देखा परेको छ । डडेलधुरामा कोरा मृत्युदर (प्रतिहजार जनसंख्यामा ७.६२), शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा ४२.८३), पाँच वर्षमुनिका बच्चाको मृत्युदर (प्रतिहजार जीवित जन्ममा ५८.०५), औसत आयु (६४.४ वर्ष) जस्ता स्वास्थ्य सूचांकहरू देशको औसत दरभन्दा निराशाजनक छन् ।

जिल्लामा चौथो पटक गर्भ जाँच गराउने गर्भवती महिला ६२ प्रतिशत र दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराइएका महिला ६१ प्रतिशत मात्रै छन् । जसका कारण अकालमै गर्भवती र सुत्केरी आमा तथा नवजात शिशुको मृत्यु हुने दर राष्ट्रिय औसतभन्दा बढी छ । डडेलधुराको मानव विकास सूचकांक ०.४४२ छ । नेपालको औसत सूचकांक ०.४९० छ । अर्थात् डडेलधुराको मानव विकास सूचकांक नेपालको राष्ट्रिय औसतभन्दा निकै कम देखिन्छ । डडेलधुरा ५० औं स्थानमा छ । मानव गरिबी सूचकांकका अवयवमध्ये ४० वर्षसम्म पनि बाँच्न सक्ने अपेक्षा नगरिएको जनसंख्या डडेलधुरामा करिब ९ प्रतिशत छ । अर्थात् यहाँ १०० मा ९ जना ४० वर्ष पनि बाँच्न नसक्ने आकलन छ । त्यस्तै जिल्लाभरका ५ वर्षमुनिका बालबालिकामध्ये करिब आधा (४८.६ प्रतिशत) कुपोषणबाट प्रभावित छन् ।

०६३ को पुनःस्थापित व्यवस्थापिका संसद् र ०६४ को संविधानसभामा देउवाका सहयोगी रहेर काम गरेका पुराना कांग्रेस कार्यकर्ता हरि भट्ट जिल्लाको दुर्गति दर्शाउने यस्ता सूचकांकसँग प्रधानमन्त्री देउवालाई कुनै मतलब नभएको आरोप लगाउँछन् ।

कांग्रेस महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि भइसके पनि देउवासँगको असन्तुष्टिले हाल कांग्रेस छाडेका उनी भन्छन्, ‘राज्यको नीति सबै वडाहरूमा एक/एक स्वास्थ्यचौकी बनाउने र त्यहाँ एमबीबीएस तहका चिकित्सक राख्ने भन्ने छ । यहाँ पालिका तहमा पनि त्यो अवस्था छैन । उहाँले आफ्ना भाषणमा सधैं गुणस्तरीय स्वास्थ्य भन्नुहुन्छ तर उहाँले खटाएका मानिसले यहाँको एकमात्र संघीय अस्पताललाई भ्रष्टाचारको केन्द्र बनाएका छन् । त्यसलाई रोक्न देउवाको कुनै चासो छैन ।’

देउवाले गत स्थानीय चुनावका बेलामा डडेलधुरामा मेडिकल कलेज बनाउने निर्णय गरेको भन्दै त्यसको जस लिने प्रयास गरेका थिए । कांग्रेसका नेता–कार्यकर्ताहरू अब उक्त कलेज बनाउने प्रतिबद्धतालाई चुनावमा देउवाको प्रमुख एजेन्डाका रूपमा उठाउने बताउँछन् । तर, डडेलधुरामा मेडिकल कलेज बनाउने निर्णय देउवाले गरेको नभई मेडिकल कलेजको माग गर्दै अनशन बसेका डा. गोविन्द केसीसँग तत्कालीन केपी ओली सरकारले गरेको सम्झौताको परिणाम भएको नेपाली कांग्रेस (बीपी) का तर्फबाट डडेलधुराको प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कर्ण मल्लले बताए । लामो राजनीतिक जीवन कांग्रेसमा बिताएका मल्ल दुई पटक पार्टीको जिल्ला सभापति भइसकेपछि देउवाले कारबाही गरी निकालेका कारण कांग्रेस (बीपी) बाट उम्मेदवार बनेर देउवासँगै चुनाव लड्न तम्सेका छन् । उनले ३१ वर्षसम्म डडेलधुराको प्रतिनिधित्व गरेका देउवाले अब दिन बाँकी केही नरहेकाले उनलाई बिदा गर्ने गरी आफू चुनावी मैदानमा उत्रिएको बताए ।

पश्चिम सेती जलविद्युत् आयोजना बनाउने र त्यसैको बलमा सिंगो सुदूरपश्चिमको बेरोजगारी समस्या दूर गर्ने देउवाको भाषण ०४८ सालदेखि दोहोरिइरहेको छ । ०७४ मा संसदीय निर्वाचनको मुखमा देउवाले जिल्लाभरका करिब ८० हजार मतदातालाई व्यक्तिगत सम्बोधन गर्दै आफ्नो उम्मेदवारी किन हो भन्ने प्रस्ट्याएर पत्र पठाएका थिए । उक्त पत्रमा देउवाले लेखेका थिए, ‘…जिल्लाको समग्र विकाससँगै मेरो सपना पश्चिम सेती र पञ्चेश्वरको पूर्णता पनि हो । यसबाट अरू थप अवसरहरूको वृद्धि हुनेछ । बेरोजगारी अन्त्य भई ७ नं प्रदेश (हाल सुदूरपश्चिम प्रदेश) कै समृद्ध जिल्लाको परिचय डडेलधुराले प्राप्त गर्ने मेरो विश्वास छ । यी कार्यहरूको पूर्णता र प्राप्तिका लागि म सदा प्रतिबद्ध छु ।’

देउवाले यस पटक पनि पश्चिम सेतीलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाउँदै छन् । डडेलधुरा ‘ख’ बाट कांग्रेस प्रदेशसभा उम्मेदवार बनेका सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्दराज बोहोराले प्रधानमन्त्री देउवाकै अग्रसरतामा पश्चिम सेती निर्माणको चरणमा अघि बढ्ने बताए । ‘आजसम्म बजारको सुनिश्चितता नभएका कारण यो प्रोजेक्ट अगाडि बढ्न सकेको थिएन, एमसीसीपछि भारतसम्म बिजुली पुर्‍याउने बाटो तय भएको छ, अब पश्चिम सेती बन्ने आधार पनि तयार भयो,’ उनले भने, ‘यो परियोजना बनाएरै सुदूरपश्चिमको बेरोजगारी समस्या हल गर्ने हो । त्यसमा प्रधानमन्त्री देउवा प्रतिबद्ध हुनुहुन्छ ।’

गएको भदौ २ मा लगानी बोर्ड र भारतको ‘एनएचपीसी लिमिटेड, गभर्मेन्ट अफ इन्डिया इन्टरप्राइजेज’ बीच पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजना विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । बोर्डका प्रवक्ता अमृत लम्सालका अनुसार कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसीका अध्यक्ष तथा कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरेको समझदारी पत्रमा ‘एनएचपीसी लिमिटेडले परियोजनाको आर्थिक, वित्तीय, प्राविधिक, सामाजिक एवं वातावरणीय, ऊर्जा बजारको सुनिश्चितता, प्रसारण लाइनलगायत विषयमा अध्ययन गरी दुई वर्षभित्र विस्तृत परियोजना दस्ताबेज लगानी बोर्डसमक्ष पेस गर्नॅपर्ने’ उल्लेख छ ।

अहिले सिंगो सुदूरपश्चिमका नागरिक आफ्नो र परिवारको दुई छाक टार्न छिमेकी भारतमा निर्भर हुनुपर्ने बाध्यता छ । कुनै पनि निकायसँग कामको खोजीमा भारत पुगेका नागरिकको एकीकृत तथ्यांक छैन तर हरेक जिल्लाका दुईमध्ये एक परिवारको कोही न कोही सदस्य भारतमा रहेको विश्वास गरिन्छ । डडेलधुरामा जिल्लामा अनुपस्थित जनसंख्यामध्ये करिब ९० प्रतिशत भारतमा रहेको तथ्यांक कार्यालयको रेकर्ड छ । देउवा र उनको टिमले वर्तमानमा देखिएको बेरोजगारीको यस्तो भयावह समस्या समाधानका लागि निर्माणको कुनै टुंगो नलागेको पश्चिम सेती परियोजनालाई देखाइरहेको कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि भट्टले बताए ।

डडेलधुराका २४ हजार ७ सय ९७ किसान परिवारमध्ये कृषिजन्य उत्पादनले वर्षभरि खान पुग्ने परिवार ५ हजार ३ सय ७३ अर्थात् २२ प्रतिशत मात्रै छन् । १०० मध्ये ७८ किसान परिवारलाई वर्षभरको मिहिनेतको उब्जाउले पेटभरि खान पनि पुग्दैन । जिल्लाभर १० हजार ६ सय ७० हेक्टर कृषीयोग्य क्षेत्रफलको जम्मा २९ प्रतिशत भूभागमा मात्रै सिँचाइ सुविधा छ । यस्ता समस्याको समाधान न संघीय सरकारको नेतृत्व गरिरहेका देउवाको प्राथमिकतामा छ न त प्रदेश सरकार वा त्यसका लागि प्रतिस्पर्धारत उम्मेदवारबीच नै, यसबारे कुनै चिन्ता देखिन्छ ।

यसअघिका सबै चुनाव जित्दै आएका देउवाले यस पटक पनि सम्भवतः जित्नेछन् । निर्वाचन इतिहासमै कांग्रेस पार्टीका तर्फबाट सबैभन्दा कम उम्मेदवार उठाएका कारण पार्टीभित्र बढ्दो असन्तुष्टिको प्रभाव सम्भवतः डडेलधुरामा देउवालाई जोखिम हुने गरी पर्ने छैन । यद्यपि उनकै पार्टीका पुराना कार्यकर्ताले खोलेको दल नेपाली कांग्रेस (बीपी) का उम्मेदवार मल्लसँगको मुख्य प्रतिस्पर्धाको नयाँ अनुभव देउवाले यो चुनावबाट प्राप्त गर्नेछन् । मल्ललाई प्रमुख विपक्षी दल एमालेले सघाउने भनेर आफ्ना उम्मेदवारको मनोनयन केन्द्रीय तहबाट फिर्ता गरेको भए पनि जिल्लाभित्रको मनोमालिन्यले गर्दा एमाले मल्ललाई सघाउने पूर्वसहमतिबाट पछि हटेको छ । गठबन्धनकै अर्को दल एकीकृत समाजवादीले भने मल्ललाई सहयोग गर्ने सहमति शनिबार दिउँसो गरेको छ । प्रतिनिधिसभा र स्थानीय तहमा भएका पछिल्ला चुनावहरूले डडेलधुरामा कांग्रेस र माओवादीलाई प्रमुख दलका रूपमा उभ्याएका छन् । ती दुई दलका तर्फबाट देउवा चुनावी मैदानमा छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस