×
Lagani
Lagani Shiksha gif
५२ प्रतिशत विद्यार्थी उच्च शिक्षा पढ्न अस्वीकृत , ४ जीपीए ल्याउने शून्य।



विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को नतिजामा ५२ प्रतिशत अर्थात् १ लाख ८८ हजार ४ सय १० जना विद्यार्थी नन ग्रेडिङ (एनजी) मा परेका छन् ।

उनीहरू उच्च शिक्षा पढ्न अस्वीकृत भएका हुन् । तीमध्ये दुई विषयमा मात्रै नन ग्रेडिङमा परेका १ लाख ३० हजार ८ सय ७८ (३६ प्रतिशत) परीक्षार्थीले भने असोज ३० र ३१ गते ग्रेडवृद्धि परीक्षामा सहभागी हुने अवसर पाउने छन् ।

Lagani Shiksha gif
sharehubapk ५२ प्रतिशत विद्यार्थी उच्च शिक्षा पढ्न अस्वीकृत , ४ जीपीए ल्याउने शून्य।

उक्त परीक्षामा दुवै विषयमा कम्तीमा १.६ जीपीए ल्याए उनीहरूलाई उच्च शिक्षा अध्ययनको ढोका खुल्नेछ । ग्रेडवृद्धि परीक्षामा सहभागी हुन अन्य विषयमा ‘डी’ भन्दा माथिल्लो ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । लेटर ग्रेडिङ पद्धतिअनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक प्राप्त नगरे एनजी उल्लेख गरिन्छ ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार लेटर ग्रेडिङ पद्धति २०७८ अनुसार १२ को नतिजा सार्वजनिक गरेको हो । नतिजाअनुसार १६ प्रतिशत अर्थात् साढे ५७ हजार विद्यार्थीले भने अर्को वर्ष पुनः कक्षा १२ को सबै विषयको परीक्षा दिनुपर्नेछ । यसअघि २०७२ को लेटरग्रेडिङ पद्धतिमा दुईभन्दा बढी जुन–जुन विषयमा न्यून ग्रेड प्राप्त गरेको हो, त्यही विषयमा मात्रै ३ वर्षसम्म ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था थियो । यो वर्षदेखि पहिलो पटक लागू पद्धतिमा कुनै विषयमा राम्रो जीपीए प्राप्त गरेको ननग्रेड विद्यार्थीले पनि पुनः सबै परीक्षा दिनुपर्ने बाध्यता छ ।

जेठ १६ देखि २५ गतेसम्म देशभर सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ३६ हजार ८ जना सहभागी थिए । तीमध्ये १ लाख ७४ हजार ५ सय ९८ जना (४८ प्रतिशत) ले मात्रै विश्वविद्यालयमा भर्ना पाउने छन् । कोभिड जस्तो असहज परिस्थितिपछिको परीक्षाको नतिजालाई निराशाजनक भन्न नमिल्ने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले दाबी गरे । कोभिड महामारीका कारण दुई वर्षपछि बोर्डले २०७६ सालभन्दा पहिले जस्तो गरी आफैंले परीक्षा सञ्चालन गरेको थियो ।

२०७७ र २०७८ मा भने होमसेन्टरमा परीक्षा सञ्चालन गरेर विद्यालय आफैं र बाह्य परीक्षकले उत्तरपुस्तिका परीक्षण गरेका थिए । २०७६ को तुलनामा यसपालिको नतिजा झनै खस्केको देखिएको छ । विद्यालय शिक्षाका अनुसन्धानदाता देवीराम आचार्यले कोभिडले सिकाइ खस्किए पनि त्यसलाई स्वीकार गर्न सरोकारवाला तयार नभएको बताए ।

२०७६ मा जस्तै यस पटक पनि ४ मा ४ जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य छ । २०७७ मा उत्तरपुस्तिका विद्यालयमा नै परीक्षण गर्दा ४७ जनाले ४ जीपीए प्राप्त गरेका थिए । २०७८ मा बाह्य परीक्षकबाट उत्तरपुस्तिका जँचाउँदा पनि ४ जीपीए ल्याउने विद्यार्थी शून्य भए । २०७६ मा साढे १६ हजार अर्थात् ५ प्रतिशत विद्यार्थीले मात्रै १.६ भन्दा कम जीपीए ल्याएकाले उच्च शिक्षामा भर्ना हुन रोकिएका थिए । यस पटक उक्त संख्या ५२ प्रतिशत पुगेको हो । त्यतिबेला २ लाख ९२ हजार परीक्षार्थीले परीक्षा दिएका थिए ।

नतिजाले विद्यालय शिक्षाको पढाइमा नै गडबड छ भन्ने प्रश्न उठेको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रेम फ्याकले बताए । ‘१२ वर्षसम्म पढ्दा पनि नतिजा राम्रो आएन भने हामीले बालबालिकालाई के पढायौं ?’ प्रश्न गर्दै उनले भने, ‘विद्यार्थीलाई मात्र दोष दिएर हुँदैन, विद्यालय शिक्षाको शिक्षण सिकाइको जग बलियो बनाउन पुनर्विचार गर्न ढिलाइ भइसक्यो ।’ रिजल्ट प्रकाशनपछि त्यसको विश्लेषण गरेर सुधार गर्ने प्रयासमा कमी हुँदै आएको उनी बताउँछन् ।

विषयगत रूपमा बोर्डले सार्वजनिक गरेको नतिजा विश्लेषण गर्दा सबैभन्दा बढी अंग्रेजी, सामाजिक अध्ययन, नेपाली, लेखा, अर्थशास्त्र, बिजनेस स्टडिजलगायत विषयमा विद्यार्थी कमजोर रहेको देखिन्छ । अनिवार्य अंग्रेजीमा १ लाख १ हजारभन्दा बढी विद्यार्थी नन ग्रेडिङमा परेका छन् । त्यसपछि लेखा विषयमा ६६ हजार विद्यार्थीको नतिजा नन ग्रेडिङ आएको छ ।

सामाजिक अध्ययनमा ५४ हजार, नेपालीमा ३२ हजार, अर्थशास्त्रमा साढे २७ हजारभन्दा बढी, बिजनेस स्टडिजमा साढे १९ हजार विद्यार्थीले ३५ प्रतिशत अंक पनि ल्याउन नसकेर नन ग्रेडिङमा परेका हुन् । ऐच्छिक नेपालीमा १७ हजार ७ सय ५४, शिक्षण विधिमा १७ हजार ४ सय ६०, शिक्षामा ११ हजार ४ सय ६७ जनाको नन ग्रेडिङ नतिजा आएको छ । यद्यपि प्रयोगात्मकतर्फ भने अंग्रेजीमा ४, लेखामा २, सामाजिकमा ३, नेपालीमा ४ जनाको मात्रै एनजी उल्लेख छ ।

कमजोर विद्यार्थीलाई पनि शिक्षकले प्रयोगात्मकतर्फ भने कुस्त नम्बर दिएको बोर्डका पदाधिकारी बताउँछन् । यसअघि प्रयोगात्मक र सैद्धान्तिकतर्फको नम्बर एकै ठाउँमा जोडेर नतिजा प्रकाशित गरिन्थ्यो । विद्यालय शिक्षाको जग नै बलियो नभएका कारण अंग्रेजी, नेपालीलगायत भाषागत विषयमा धेरै विद्यार्थी असफल भएको अंग्रेजी विभागका प्राध्यापक फ्याकले औंल्याए ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले कक्षा ५, ८ र १० का विद्यार्थीमा गरेको अध्ययनमा पनि सिकाइ उपलब्धि ५० प्रतिशत हाराहारी मात्रै रहेको पाइएको थियो । तल्लो कक्षाको रिफ्लेक्सन कक्षा १२ मा देखिएको र उच्च शिक्षामा पनि देखिने प्राध्यापक फ्याकले बताए । ‘१२ कक्षाको नतिजा मात्रै विश्लेषण गरेर पुग्दैन, ५ कक्षामा पढ्ने विद्यार्थीले आफ्नो नाम अंग्रेजीमा लेख्न नसक्ने अवस्था छ, १० कक्षामा पढ्नेले आफ्नो स्कुलको नाम अंग्रेजीमा शुद्ध लेख्न सक्दैन,’ उनले भने ।

समग्र नतिजाअनुसार यस पटक जीपीए ३.६१ देखि ४ ल्याउने विद्यार्थी ४ हजार १ सय ८९ जना (१.१५ प्रतिशत) रहेका छन् । ३.२१ देखि ३.६० सम्म ३० हजार १ सय ७ जना (८.३ प्रतिशत), २.८१ देखि ३.२० सम्म ६५ हजार २ सय ८४ (१७.९८ प्रतिशत), २.४१ देखि २.८० सम्म ६४ हजार ९३ जना (१७.६६ प्रतिशत), २.०१ देखि २.४० सम्म १० हजार ९ सय (३.० प्रतिशत), १.६१ देखि २.० सम्म ३५ जना र १.२१ देखि १.६० सम्म जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य रहेको बोर्डले जनाएको छ । जिल्ला/जिल्लामा परीक्षा केन्द्र तोकेर सञ्चालन गरिने बोर्डले जनाएको छ । वार्षिक परीक्षामा जस्तै अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरिनेछ ।

ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १ सय ३२ जना परीक्षार्थी सहभागी थिए । आंशिकतर्फ ४१ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जनाए । नियमिततर्फ ३८ जनाको परीक्षा रद्द गरिएको छ ।

शुक्रबार साँझ नतिजा प्रकाशन गरेर बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट मात्रै नतिजा हेर्न सक्ने व्यवस्था गरिएको थियो । ढिला गरी नतिजा राख्दा राति अबेरसम्म थाहा पाउन सकस भएको विद्यार्थी, अभिभावकले गुनासो गरे । १५ दिनपछि मात्र ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल प्रमाणपत्र उपलब्ध गराइने बोर्डले जनाएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस