राष्ट्रपति कार्यालयले शुक्रबार मध्यराती जारी गरेका दुवै प्रेस विज्ञप्ति वेभसाइटबाट हटाएको छ ।
‘प्रधानमन्त्री नियुक्ति सम्बन्धमा’ र ‘प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको निर्वाचन मिति तोक्नु भएको’ शीर्षकमा राखिएका दुवै विज्ञप्ति राष्ट्रपति कार्यालयको वेबसाइटमा छैनन्।
प्रधानमन्त्री केपी ओलीसँग मिलेर प्रतिनिधिसभा विघटन गर्न जायज(नाजायज काम गरेकी राष्ट्रपति विद्यादेवि भण्डारीले बिहीबार र शुक्रबार जारी गरेका ऐतिहासिक सूचनाहरु सार्वजनिक पहुँचबाट झिकिएको हो।
राष्ट्रपति भण्डारीको कदमको चौतर्फी आलोचना भइहरको बेला त्यसलाई राष्ट्रपति कार्यालयको वेबसाइबाटै हटाएको हो।
मिडिया, नागरिक समाज, राजनीति र कानुनका जानकारहरुले राष्ट्रपति भण्डारीले ओलीको गैरसंवैधानिक कदमलाई अपारदर्शी र षड्यन्त्रपूर्वक रुपमा अनुमोदन गरेको आरोप लागेको छ।
भण्डारीले बिहीबार बेलुका २१ घण्टाको समय दिएर संविधानको धारा ७६ (५) अनुसारको सरकारका लागि दाबी गर्न प्रतिनिधिसभाका सदस्यहरुलाई आह्वान गरेकी थिइन्।
शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गरेका थिए। त्यसै दिन ओलीले पनि १५३ जना सांसदको आफूलाई समर्थन रहेको भन्दै दाबी गरेका थिए। तर भण्डारीले दुवै जनाको दाबीमा सांसदहरुको हस्ताक्षर दोहोरिएको भन्दै दुुवै दाबीलाई अस्वीकार गरेकाी थिइन्। उक्त सूचना राति ११ः३८ बजे अपलोड गरिएको थियो ।
लगत्तै मध्यराति मन्त्रिपरिषद् बैठक राखेर ओलीले संसद विघटनको सिफारिस गर्दै कात्तिक २६ र मंसिर ३ गतेका लागि चुनावको प्रस्ताव गरेका थिए। राष्ट्रपति कार्यालयमा उक्त पत्र पुगेको केही क्षणमा भण्डारीले विघटन सदर गर्दै चुनावको मिति तोकेकी थिइन्। सो सूचना पनि राति १ः४८ बजे अपलोड गरिएको थियो ।
यी तीनवटै सूचनाहरुका साथै जेठ महिनाका अरु सूचना पनि हटाइएको छ। अहिले वेभसाइटमा वैशाख ३१ यता जारी गरिएका सूचनाहरु कुनै पनि देखिदैनन् ।(ज्योति न्युज बाट) 













