सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो।
कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो । जुन कम्पनीले बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९.१६ गुणा भन्दा धेरै हो।
त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
माग भन्दाबढी आवेदन परेकोले कम्पनी शेयर न्यूनतम १० कित्ताका दरले वितरण गरिएको छ सो अनुसार २ लाख ६९ हजार ७०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् ।
बाँकि योग्य आवेदकमध्ये १२ लाख ९० हजार १०२ जनाको हाल खाली भएको छ ।
कसरी हेर्ने नतिजा ?
विगतका आईपीओहरुको नतिजा सजिलै हेर्न पाइन्थ्यो । विभिन्न अनलाईन पोर्टलहरुले नतिजा प्रदान गर्ने गरेका थिए । तर अघिल्लो ‘महिला लघुवित्त’को आईपीओदेखि सिडीएससीले चार ठाँउबाट मात्र नतिजा हेर्न पाइने व्यवस्था गरेको छ ।
सर्वसाधारणले मेरो शेयर, सिडीएससीको नयाँ वेबसाइट, कम्पनीकाे वेबसाइट र बिक्री प्रबन्धककाे वेबसाइटमा नतिजा हेर्न सक्नेछन्। नतिजा हेर्नको निम्ती केही समय भने कुर्नुपर्ने भएको छ । बिक्री प्रबन्धकले आईपीओ वितरण सम्बन्धी आवश्यक प्रक्रिया पूरा गरेपछि यी चार माध्यमबाट नतिजा हेर्न सकिने जनाइएको छ ।













