×
ओलीको टिके सल्लाहकार नबन्ने भीम रावलको घोषणा



नेकपा एमालेका वरिष्ठ नेता डा. भीमबहादुर रावलले पार्टीको सल्लाहकार पद अस्वीकार गरेका छन् ।

महासचिव शंकर पोखरेलले रावललाई अमृत बोहराको अध्यक्षतामा रहेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य अर्थात पार्टीको सल्लाहकारको जिम्मेवारी दिइएको बताएका बेला रावलले त्यसको खण्डन गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै टिके प्रणालीबाट आफू सल्लाहकार नबन्ने स्पष्ट पारेका छन् ।

‘मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ,’ रावलले भनेका छन्, ‘यस्तो टिके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’ अध्यक्ष ओलीसँग १०औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका रावलले केन्द्रीय सदस्य पद पनि अस्वीकार गरेका थिए ।

अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा रावलले रुचि नदेखाएपछि उहाँलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताउनुभयो ।

उहाँले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा रावलको परामर्शबमोजिम हुने स्पष्ट गर्नुभयो । पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीको बैठकका निर्णयमा रावलको जिम्मेवारी पनि परेको जनाइएको छ । अछामबाट प्रतिनिधिसभामा निर्वाचित डा रावलले आफू पार्टीमै रहने र यहाँभित्र देखिएका कमजोरी सुधार्न लागि पर्ने जनाउँदै आउनुभएको छ ।

गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको महाधिवेशनमा सर्वसम्मत नेतृत्व प्रस्तावअन्तर्गत उपाध्यक्ष पदमा निरन्तरता दिन बन्दसत्रमा अध्यक्ष ओलीले गरेको प्रस्तावमा ड रावल तयार नभएपछि निर्वाचन भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस