माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज असार १९ गते बाँडफाँड सम्पन्न गरेको छ।
बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले सार्वजनिक गरेको बाँडफाँड विवरणअनुसार गोलाप्रथामार्फत १ लाख ४२ हजार ७६० जना योग्य आवेदकले १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। कम्पनीले सर्वसाधारणका लागि असार ३ गतेदेखि असार ८ गतेसम्म १४ लाख २७ हजार ६०० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो। उक्त आईपीओमा लगानीकर्ताको उच्च आकर्षण देखिएको थियो। प्राप्त विवरणअनुसार कुल २८ लाख ६२ हजार ९०९ वटा आवेदन परेकामध्ये ४७ हजार २३० वटा आवेदन अयोग्य ठहरिएका छन् भने २८ लाख १५ हजार ६७९ वटा आवेदन मात्रै योग्य भएका छन्। योग्य आवेदकबाट कुल ३ करोड १ लाख १९ हजार ८८० कित्ता सेयरको माग परेको थियो, जुन बिक्रीका लागि उपलब्ध सेयरभन्दा करिब २१ गुणा बढी हो।
उपलब्ध सेयरको संख्या अत्यन्तै कम र योग्य आवेदकको संख्या धेरै भएकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकाअनुसार गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको हो। यसअनुसार १ लाख ४२ हजार ७६० जनाले मात्रै न्यूनतम १० कित्ता सेयर प्राप्त गरेका छन् भने बाँकी अधिकांश योग्य आवेदक यस पटक पनि सेयरबाट वञ्चित भएका छन्।
बाँडफाँडको नतिजा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको वेबसाइट, सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) तथा मेरोसेयरमार्फत हेर्न सकिनेछ।
















