राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगले विभिन्न पदका लागि परेको उम्मेदवारीको प्रारम्भिक सूची सार्वजनिक गर्दै दाबी–विरोध र आवश्यक प्रक्रिया पूरा भएपछि अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ।
सार्वजनिक प्रारम्भिक सूचीअनुसार महिला उपसभापतिका लागि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ। उक्त पदका लागि सोबिता गौतम र तोसिमा कार्कीले उम्मेदवारी दिएका छन्। यसअघि समिक्षा बास्कोटाले पनि उम्मेदवारी दर्ता गराएकी थिइन् भने अन्तिम समयमा उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।
महामन्त्री पदमा सबैभन्दा बढी प्रतिस्पर्धा देखिएको छ। एक पदका लागि कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, जगदीश खरेल (ललितपुर), रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले उम्मेदवारी दिएका छन्।
खुला सह-महामन्त्रीतर्फ दुई पदका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा छन्। यस पदमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्तबीच प्रतिस्पर्धा हुनेछ।
महिला सह-महामन्त्री पदका लागि जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।
यसअघि सम्पन्न प्रक्रियाबाट पुरुष उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्। पहिलो चरणमा केन्द्रीय सदस्यहरूको चयन सम्पन्न भएपछि अहिले पार्टीको पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया अघि बढाइएको हो।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता, दाबी–विरोध र छानबिनको प्रक्रिया सम्पन्न भएपछि अन्तिम उम्मेदवार सूची सार्वजनिक गरी बन्दसत्रमार्फत मतदान गराउने तयारी गरेको जनाएको छ।
















