साताको कारोबारको दोस्रो दिन सोमबार पनि सेयर बजारमा पहिरो गएको छ ।
साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ३६ प्रतिशत अर्थात् ७९ दशमलव २३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २३३ कम्पनीको ९६ लाख ७९ हजार ०७२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ९९ करोडमाथिको सेयर कारोबार भएको छ ।
यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.४७ प्रतिशत बढेको छ।कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७७१ दशमलव ९० पुगेको हो । त्यस्तै बोटलर्स नेपाल, युनिलिभर नेपाल, माउन्टेन इनर्जी नेपालका लगानीकर्ता पनि मालामाल भएका छन् ।

कारोबारमा आएका १३ ओटा समूहकै परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । यो दिन सबैभन्दा बढी वित्त समूहको लगानीकर्ताले गुमाएका छन् । उक्त समूहको परिसूचक ६ दशमलव ५१ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् ।
यो दिन सबैभन्दा बढी स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ६९३ दशमलव ९० मा झरेको हो । त्यस्तै दिव्यश्वरी हाईड्रोपावर कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, गुडविल फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी, आइसिएफसि फाइनान्स, मल्टीपर्पस फाइनान्स , ग्रिन डेभलपमेन्ट बैंक र युनाइटेड इदि मर्दि आरबि हाईड्रोपावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ ।

खरिदबिक्री रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यस कम्पनीको १८ करोड ०३ लाख ५९ हजार ३०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, यस दिन नेशनल हाइड्रोपावर, हिमालयन डिष्टिलरी, मञ्जुश्री फाइनान्स र महालक्ष्मी विकास बैंकको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
















