काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा नयाँ सरकार गठनसँगै मन्त्रीमण्डलको पूर्ण सूची सार्वजनिक भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल ले वरिष्ठ नेता बालेन शाह लाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै आजै शीतल निवासमा शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्रीसँगै मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिने तयारी गरिएको छ।
सरकार गठनसँगै रास्वपाले प्रमुख मन्त्रालयहरूका लागि नाम टुंगो लगाइसकेको छ। अर्थ मन्त्रालयमा तनहुँ–१ बाट निर्वाचित तथा पार्टीका उपसभापति स्वर्णिम वाग्ले नियुक्त हुने भएका छन्। अर्थशास्त्रका ज्ञाता वाग्ले पहिलो पटक मन्त्री बन्न लागेका हुन् र बजेट निर्माण तथा आर्थिक सुधारमा उनको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी काठमाडौँ–८ बाट निर्वाचित बिराज भक्त श्रेष्ठ लाई दिइएको छ। यसअघि खेलकुद मन्त्री भइसकेका श्रेष्ठ पुनः मन्त्रीको रूपमा सरकारमा प्रवेश गर्न लागेका हुन्। यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सर्लाही–४ बाट निर्वाचित अमरेश कुमार सिंह लाई जिम्मेवारी दिइएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रुपन्देही–१ बाट निर्वाचित सुनिल लम्साल नियुक्त हुने भएका छन् भने सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी समानुपातिक सांसद प्रतिभा रावल लाई दिइएको छ।
यसैगरी परराष्ट्र मन्त्रालयमा काठमाडौँ–६ बाट निर्वाचित शिशिर खनाल नियुक्त हुने भएका छन्। यसअघि शिक्षामन्त्री भइसकेका खनाललाई अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्ने जिम्मेवारी दिइएको छ। कानुन मन्त्रालयमा चितवन–३ बाट निर्वाचित सोविता गौतम नियुक्त हुने भएकी छन् भने गृहमन्त्रीको जिम्मेवारी गोरखा–१ बाट निर्वाचित सुदन गुरुङ ले सम्हाल्ने भएका छन्।
यसअघि सार्वजनिक सूचीमा नसमेटिएका अन्य मन्त्रालयहरू पनि टुंगो लागेका छन्। पर्यटन मन्त्रालयमा गणेश पौडेल, कृषि मन्त्रालयमा गीता चौधरी, शिक्षा मन्त्रालयमा सस्मित पोखरेल, स्वास्थ्य मन्त्रालयमा निशा मेहता, महिला तथा बालबालिका मन्त्रालयमा सीता वादी, सञ्चार मन्त्रालयमा विक्रम तिमिल्सिना तथा श्रम मन्त्रालयमा दीपक साह नियुक्त हुने भएका छन्।
नयाँ मन्त्रीमण्डलमा युवा अनुहारहरूको उल्लेख्य उपस्थिति देखिएको छ भने केही अनुभवी नेताहरूको पनि समावेशीकरण गरिएको छ। यसले सरकारलाई नयाँ ऊर्जा र सुधारमुखी दृष्टिकोण दिने अपेक्षा गरिएको छ।
आजै हुने शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहने बताइएको छ। नयाँ सरकार गठनसँगै अब आर्थिक सुधार, सुशासन, पूर्वाधार विकास र सेवा प्रवाहमा प्रभावकारी काम हुने अपेक्षा गरिएको छ।











