माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ निष्कासन गर्नका लागि पुस ११ गते सेबोनमा निवेदन दिएको हो । अनुमति पाएमा कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी अंकित मूल्य १०० रुपैयाँमा १४८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २४८ रुपैयाँमा आइपीओ बिक्री गर्ने छ ।
आईपीओ निष्कासन गर्न सेबोनको अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका र स्थानीय बासिन्दाको लागि निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।
कम्पनीले मकवानपुर जिल्लाको इपा गाउँपालिकामा २२ मेगावाट क्षमताको बागमती स्मल जलविद्युत् आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । यो आयोजनाले २०७५ देखि विद्युत उत्पादन शुरु गरेको हो ।










