नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का आह्वान भएको छ ।
२०७३ सालबाटै सडक विभागले पूर्वपश्चिम राजमार्गको चितवनको नारायणगढ र पूर्वी नवलपरासीको गैँडाकोट जोड्न ‘सिग्नेचर’ ब्रिज बनाउने योजना ल्याएको थियो । यही योजनाका लागी अत्याधुनिक प्रविधि प्रयोग गरेर नारायणी नदीमा आकर्षक एवम् कलात्मक पुल निर्माण गर्न लागिएको हो ।
सरकारले नयाँ किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने पुलहरु बनाउन विश्व बैंकलाई ऋण उपलब्ध गराउन प्रस्ताव गरेको थियो । बैंकले यसका लागि सहुलियत ब्याजदरको ऋण दिन सहमति जनाएको हो । यस्तो पुल बनाउने कामको सुरुआत चितवनको नारायणी नदीबाट हुनेछ ।
हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो रहेकोमा अब बन्ने पुल ५०० मिटर लामो हुने छ। उक्त पुल पर्यटकीय रुपमा समेत आकर्षक बनाउने तयारी छ ।
उक्त पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ ।

















