नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।
कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमानबाट काठमाडौं आएका उनलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै प्रकाउ गरेको छ । लामिछानेलाई गौशाला प्रहरी वृतमा लैजाने तयारी भैरहेकाे प्रहरीले जनाएकाे छ ।
उनी बिहान १० बजे विमानस्थलमा ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौं आएको उनी सवार कतार एयरवेजको जहाजले केहीबेर आकाशमा फन्को मारेको थियो ।
१६ वर्षीया एक किशोरीले भदौ ५ गते राति आफुमाथि सन्दीपले बलात्कार गरको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । सन्दीपले काठमाडौंको एक होटलमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । सन्दीपले आफुविरुद्ध झुटो आरोप लागेको बताउँदै नेपाल फर्के लगत्तै कानुनी लडाई लड्ने बताएका छन् ।
उनीविरुद्ध नेपाल प्रहरीको आग्रहानुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।










