×
अजोडको इन्साइडर ट्रेडिङ प्रकरणमा धितोपत्र बोर्ड अझै मौन ।



अजोड इन्स्योरेन्सको भित्री शेयर कारोबार (इन्साइडर शेयर ट्रेडिङ) प्रकरणमा नियामक निकाय नेपाल धितोपत्र बोर्डले अझै पनि सत्यतथ्य बाहिर ल्याउन नसकेको देखिएको छ ।

बोर्डले यस प्रकरणमा छानविन गर्न उपसमिति बनाएकै १४ महीना भइसक्यो । उपसमितिले यससम्बन्धी सत्यतथ्य अझै बाहिर ल्याउन सकेको छैन । बोर्डले यस प्रकरणमा छानविन गर्न २०७७ चैत २३ गते एक जना निर्देशकको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । भित्री शेयर कारोबार भएको पाइएमा कारबाही गर्ने बोर्डको प्रतिबद्धता थियो ।

२०७७ चैत १६ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबारको क्रममा अजोड इन्स्योरेन्सको शेयर मूल्य अस्वाभाविक रूपमा बढेपछि सकारात्मक सर्किट लगाउनुपरेको थियो । त्यो दिन कम्पनीको शेयर मूल्यमा सर्किट लाग्नुपर्ने खास आधार केही थिएन । तर, त्यही दिन कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७७६ रुपैयाँ पुगेको थियो ।

त्यसको भोलिपल्टै कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशतको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसहित साधारणसभा आह्वान गर्‍यो । यसरी हकप्रद शेयर निष्कासन गर्ने सूचना सार्वजनिक हुनु ठीक अघिल्लो दिन शेयर मूल्यमा सर्किट लाग्नुका पछाडि इन्साइडर शेयर ट्रेडिङको हात रहेको निष्कर्ष निकालिएको थियो ।

निश्चित समूह वा व्यक्तिले सार्वजनिक हुनुभन्दा पहिले नै कम्पनीबाट उक्त सूचना लिएर शेयर खरीद गर्न खोज्दा मूल्य अस्वाभाविक बढेको सरोकारवाला बताउँछन् । २०७७ चैत १६ गते मात्र होइन, त्यस्ता समूह र व्यक्तिले कम्पनीबाट सूचना लिएर पहिलेदेखि नै शेयर खरीद गरिरहेको आंशका समेत गरिएको छ । तर, नियामक निकायले यस सम्बन्धमा छानविन गरेर सम्बद्ध पक्षलाई कारबाही गर्न ढिलाइ गरेको सरोकारवाला बताउँछन् ।

अजोड इन्स्योरेन्सको इन्साइडर शेयर ट्रेडिङ भएको भनेर चर्को आलोचना भएपछि बोर्डले २०७७ चैत २३ गते छानविन समिति बनाएको थियो । त्यसपछि कम्पनीले २०७७ चैत २५ गते हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव स्थगित गर्‍यो । त्यसपछि त्यस विषयमा थप प्रगति हुन नसकेको स्पष्ट भएको छ । हालसम्म आइपुग्दा शेयर लगानीकर्ता र सरोकारवालाले यो विषय बिर्सिइसकेका छन् ।

बोर्डका उच्च अधिकारी पनि यस विषयमा खासै प्रगति नभएको बताउँछन् । बोर्डका एक अधिकारीका अनुसार उपसमितिले अध्ययन प्रतिवेदन तत्कालीन अध्यक्ष भीष्मकुमार ढुंगानालाई बुझाएको थियो । अध्यक्ष ढुंगानाले यसलाई निर्णायक तहमा पुर्‍याउन सकेनन् ।

पछि ढुंगाना आफै सर्वोत्तम सिमेन्टको बुक बिल्डिङमार्फत आईपीओ ल्याउने मामलामा बदमासी गरेको भन्दै पदमुक्त भए । उनी पदमुक्त भएपछि यो विषय थप सेलाएको छ । बोर्डमा नयाँ अध्यक्ष आएको ३/ ४ महीना भइसक्यो । गत फागुनदेखि रमेशकुमार हमाल बोर्डको नेतृत्वमा छन् । बोर्डमा नयाँ नेतृत्व आए पनि यसको कामकारबाही भने अगाडि बढ्न सकेको छैन ।

यससम्बन्धी अभियानको प्रश्नमा बोर्डका अध्यक्ष हमालले उक्त विषयको कामकारबाही तुरुन्त अगाडि बढाउने बताए । ‘यो म आउनुभन्दा पहिलाकै विषय हो । म आएपछि पनि यससम्बन्धी प्रश्नहरू आइरहेका छन्,’ अभियानसँग उनले भने, ‘यो विषयमा म गम्भीर छु । तर, अहिलेसम्म पनि मलाई उपसमितिबाट यससम्बन्धी प्रतिवेदनलगायत जानकारी आएको छैन । अब उपसमितिबाट अध्ययन प्रतिवेदनलगायत जानकारी लिएर तत्काल कारबाही अगाडि बढाउँछु ।’ यो समाचार आजको अभियान दैनिकमा रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस