×
तपाईले शेयर किनेको कम्पनीमा तपाईको अधिकार र दायित्व के के हुन्छ जान्नुहोस ?



साधारण सेयरधनीले सम्बन्धित कम्पनीको नाफामा सरिक हुने अधिकार पाउँछन् ।

आफुले लगानी गरेको अनुपातमा कम्पनीबाट वितरण हुने प्रतिफल (लाभांश) सेयरधनीले प्राप्त गर्दछन् । कम्पनीको सर्वोच्च निकाय वार्षिक साधारण सभा हो ।

यसमा सहभागी हुने, सभाका विषयवस्तुहरुमा मत जाहेर गर्ने, कम्पनी सम्बन्धी सूचना तथा वार्षिक प्रतिवेदन प्राप्त गर्ने अधिकार पनि सेयरधनीहरुको हुन्छ । साधारण सेयरधनीहरुको तर्फबाट कम्पनीको सञ्चालकहरु मनोनयनका लागि मतदान गर्ने तथा साधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा उम्मेदवारी दिने अधिकार सेयरधनीले प्राप्त गर्दछन् ।

साधारण सेयरधनीको दायित्व :
कम्पनीमा सेयरधनीहरुको दायित्व सीमित हुन्छ । सेयरधनीहरुले आफूले लिएको सेयरको अधिकतम मूल्य बाहेक कम्पनीको कुनै पनि प्रकारको दायित्व बेहोर्नु पर्दैन ।

धितोपत्र किनबेच : 
कम्पनीहरुले धितोपत्र निष्कासन गरेका बखत धितोपत्र खरिद गर्न सकिन्छ । यसलाई प्राथमिक बजारबाट धितोपत्र खरिद गरिएको भनिन्छ । सामान्यतया यो बजारमा धितोपत्रहरु अंकित मूल्यमा खरिद बिक्री हुन्छ । वित्तीय अवस्था बलियो भएका कम्पनीले अंकित मूल्यमा थप रकम जोडेर प्रिमियममा पनि बिक्री गर्न सक्छन् ।

प्राथमिक बजारमा कम्पनीहरु बाट खरिद गरिएको धितोपत्र परेको बेला बिक्री गर्न सकिने व्यवस्था गरिएको हुन्छ । यस्तो व्यवस्थालाई दोस्रो बजार भन्छन् । स्टक एक्सचेञ्जहरुले दोस्रो बजारको रुपमा काम गरेका हुन्छन् । स्टक एक्सचेन्जमा बजार माग र आपूर्तिले निर्धारण गरेको मूल्यमा धितोपत्रहरुको कारोबार हुन्छ । स्टक एक्सचेन्जमा सेयर कारोबार सदस्य दलाल मार्फत हुन्छन् । धितोपत्र किनबेच गर्नेले दलाललाई कमिसन तिर्नुपर्छ ।

सेयरधनी दर्ता किताब :
कम्पनीहरुले सेयरधनीहरुको रेकर्ड अद्यावधिक राख्ने रजिस्टर सेयरधनी दर्ता किताब हो । कम्पनीहरुले ऐनको व्यवस्थाअनुसार निश्चित अवधिका लागि सेयर दाखिल खारेज तथा नामसारी नहुने गरीसेयर दर्ता किताब बन्द (बुक क्लोज) गर्छन् । कम्पनीहरुले विशेष गरी कुन मितिसम्म कायम रहेका सेयरवालाहरुलाई साधारण सभामा सहभागी गराउने तथा लाभांश/बोनस सेयर/हकप्रद सेयर जस्ता प्रतिफलहरु प्रदान गर्ने भन्ने सम्बन्धमा निर्क्यौल गर्नका लागि यसरी दर्ता किताव बन्द गर्छन् ।

यसरी दर्ता किताव बन्द भएको अवधिमा पनि सेयर खरिद विक्री गर्न सकिन्छ । बुक क्लोज भएको अवधिमा खरिद गर्ने लगानीकर्ताले सम्बन्धित कम्पनीले दर्ता किताब बन्द हुनु भन्दा अघि घोषणा भएका लाभहरु भने प्राप्त गर्न सक्दैनन । त्यसैले धितोपत्र खरिद गर्ने लगानीकर्ता यो विषयमा चनाखो हुनुपर्छ ।

कारोबार सम्बन्धी गुनासा :
धितोपत्रको सार्वजनिक निष्कासन हुँदा धितोपत्र खरिद सम्बन्धी गुनासा सम्बन्धित निष्कासन तथा बिक्री प्रबन्ध गर्ने संस्था, निष्कासनकर्ता कम्पनी तथा नेपाल धितोपत्र बोर्ड समक्ष राख्न सकिन्छ ।

सूचीकृत धितोपत्र खरिद बिक्री सम्बन्धी गुनासाबारे सर्वप्रथम धितोपत्र दलाललाई जानकारी गराउनुपर्दछ । धितोपत्र दलालबाट सन्तुष्ट नभएमा आफ्नो गुनासो लिखित रुपमा स्टक एक्सचेन्जमा राख्न सकिन्छ । यस्तो गुनासो समाधान नभएमा नेपाल धितोपत्र बोर्ड समक्ष राख्न सकिन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस