‘प्रचण्डलाई भेट्न कार्यकर्ता ढोकामा लाइन लाग्छन्, दलालहरू सिधै विच्छौनामा पुग्छन्’

मलाई माओवादी केन्द्र ०७२ सालमै छोड्न मन थियो ।

त्यसैले विस्तारै निष्क्रिय भइरहेको थिएँ । २०७३ देखि आधिकारिक रुपमा छोडें । मैले पार्टी परित्याग गरेर सक्रिय राजनीतिबाट पछि हट्नुको पछाडि सूत्रगत हिसाबले भन्दा पाँचवटा कारण छन् ।पहिलो त राजनीति असाध्यै महँगो भयो, सबैले राजनीति गर्न नसकिने भयो ।

दोस्रो राजनीति असाध्यै फोहोरी भयो । जता हेर्‍यो भ्रष्टाचार र कमिसनखोर, तस्करी, घुसखोरीमात्रै हुने देखियो, त्यसलाई सच्याउने कुरामा एक इन्च पनि कसैबाट पहल भएन ।

तेस्रोमा राजनीति असाध्यै जटिल, षडयन्त्रकारी र रहस्यमय भयो । पार्टीका ठूला टाउके नेताहरुले अध्यारा कुनामा बसेर केे-के बनाउँछन्, के-के गर्छन्, त्यो आम नेतृत्व र अरु कार्यकर्तालाई केही थाहै हुँदैन । एकैचोटी बाहिर निर्णय सुनाउँछन्, सुन्दाखेरि यस्तो पनि भयो होला र भनेर आफैं छक्क पर्ने खालको हुने । त्यो त बेठीक भयो, कम्तीमा मलाई चाँहि सारै नराम्रो लाग्यो ।

चौथो कुरा चाँहि राजनीति र अपराधका बीचमा कुनै पनि खालको पर्खाल त के कुरा गर्नु, फिरफिरे पारदर्शी पर्दा पनि रहेन । यो भनेको राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण भयो । पाँचौमा राजनीति भनेको आजीवन पेशा व्यवसाय ठेक्कापट्टा उद्योगधन्दाजस्तो भयो ।

यस्तो पनि कहिल्यै हुन्छ ? यस्तो भए त किन राजनीति गर्नुपर्यो बेकारमा भन्ने मलाई लाग्न थाल्यो । त्यसपछि मैले कि त यो कुरा सच्याउँ नसके पार्टी सकिन्छ, हाम्रो राजनीति सकिन्छ, अहिलेसम्म खुन, पसिना बगाएको काम लाग्दैन भनेर लड्दै आएँ । कहिले एक्लै लडें, कहिले साथीहरुको साथ लिएर समूहमा लडें । अरु साथी कता गए थाहा भएन, तर पार्टी एक इन्च पनि नसच्चिएपछि माओवादीमा र सम्रग राजनीतिमा बस्न मनै मानेन, म निस्किएँ ।

पार्टीले सातौं महाधिवेशन गर्दा म माओवादी पार्टीमै थिएँ । जमेर बहस गरिएको पनि हो । महाधिवेशनले राम्रा-राम्रा कार्यक्रम पारित गरेको पनि थियो । अहिले पनि अध्यक्ष प्रचण्डज्यूले त्यस्तै मीठा कार्यक्रम ल्याउनुभएको छ रे भन्ने सुनेको छु । तर कसले के बोल्छन्, कसले कति राम्रो बान्की परेका वाक्य लेख्छन् भन्ने कुराले त्यस्तो अर्थ राख्दैन । सुन्न र पढ्नमा त त्यो मजा हुने भयो तर मुख्य कुरा त काम नै हो । तर पार्टीमा ठूला कुरामात्रै हुन्छन्, काम हुदैन भन्ने बुझ्न त हेटौंडा महाधिवेशन यताको माओवादी हेरे छर्लंग भइहाल्छ ।

हेटौंडाबाट जे कुरा पास भयो, त्यो त लागू भएन । लागू नभएपछि असर गर्यो पार्टीलाई । मजस्ता मान्छेहरु निस्किन पर्ने भयो किन भने मैले त्यहाँ काम गर्ने ठाउँ नै पाइनँ । मैले के सोचे भने राजनीतिक मात्रै नभइकन उत्पादन र श्रमसित सम्बन्धित कामका लागि पार्टीले अगुवाइ लिन्न भने पार्टीका नेता कार्यकर्ता कोही काम लाग्दैनन् । यी सबै मागिखानेहरु हुन्, ठगिखाने खालका मात्रै हुन्छन् । जनता र श्रमबाट टाढा भएपछि पार्टी नेता-कार्यकर्ता कोही काम लाग्दैनन् भन्ने मेरो निष्कर्ष हो ।

अहिले पनि मेरो पूर्व कमरेड प्रचण्डले पेश गरेको प्रतिवेदनमा काम गर्ने, वर्षदिनमा १५ दिन कार्यकर्ताले काम गर्ने श्रममा भाग लिने जस्ता कुरा आएका छन् भन्ने कुरा सुनेको छु । तर मलाई विश्वास चाहिँ लागेको छैन । किन लागेको छैन भने यस्ता कुरा गर्न थालेको, यस्ता कुरा लेख्न र भन्न थालेको धेरै भयो । तर मेरो अविश्वासलाई अविश्वास गर्दै कमरेडहरुले काम गरे म असाध्यै खुसी हुन्थेँ । किनभने नेपाली जनताले, नेपाल देशले र हामीले खोजेको त्यही त हो । सबैले काम गरी खाउन्, इमान्दार बनुन्, इज्जतदार बनुन्, अरुको शासनमा नरहुन्, आफूले पनि अरुलाई अनावश्यक शासन नलादुन् भन्ने हो नि हैन र ? कम्युनिष्ट सिद्धान्त मान्यता र मूल्य भनेको त यो हो नि ।

त्यसो भएको हुनाले मलाई के लाग्छ भने त्यो गरिदिए त असाध्यै राम्रो हुने थियो । तर जीवन व्यवहार र हाम्रा निर्णय गराई र बोलाइले के देखायो भने गर्दैनन् । भन्ने, लेख्ने, हल्ला मात्रै गर्ने हुन् । एउटा गर्छन्, अर्काे भन्छन् भन्ने परेको छ जनतामा । त्यसैले धेरैले विश्वास गरेका छैनन् र प्रचण्डको यो प्रतिवेदनलाई जनताले हाँसोमा उडाएका छन् ।

पहिलो कुरा नेतृत्व नबदलिएर हुँदैन । आफू नमरी स्वर्ग देखिन्न भन्ने नेपाली चर्चित उखान छ नि । साँच्चिकै कामै गर्न मन लागेको हो भने प्रचण्ड कमरेडले नै त्यसको सुरुवात गर्नुपर्छ । लठ्ठीले हान्दैहान्दै गाईभैंसीलाई पर लखेट्नुपर्छ तर मान्छे त सबैभन्दा अगाडि आफैं लाग्नुपर्छ । भन्दा पनि गर्दा पनि । भन्दा केहीले सुन्छन्, गर्दा सबैले देख्छन् । त्यसैले अहिलेको नेतृत्व ड्याम्मै काममा लागे पो अरु लाग्छन् त । अरुलाई निर्देशन दिने तर अरुलाई केही नभन्ने, सिन्को पनि नभाँच्ने, झरेको पात पनि नउठाउने, सुकिला मुकिला विरोध गर्ने तर आफू महासुकिलामुकिला हुने गरेपछि कहिल्यै काम लागिन्छ ?

सुकिलामुकिलाको संगत पनि कतिसम्म भने म तपाईंलाई सानो उदाहरण नै दिन्छु । सर्वसाधरण कार्यकर्ताहरु कमरेड प्रचण्डलाई भेट्न जान बाहिर गेटमा लाइन लाग्या हुन्छन् । त्यो लाइनलाई हाइजम्प हानेर, कार्यकर्ताहरुको टाउको नाघेर दलालहरु स्वाट्टै प्रचण्डको विच्छौनामा पुग्छन् । अरु सबै त बाहिर ट्वाँ परेर बस्ने हुन्छ ।

त्यसैले गाउँ फर्किने, श्रमदान गर्ने, खेतिपाती गर्ने कुरा गर्नुअघि अध्यक्ष कमरेड र माओवादीका अरुका नेताहरुले पनि यो खालको कुरा, जीवनशैली त बदल्नु पर्यो नि । त्यस्तो खालको जीवनशैली, व्यवहार, कार्यशैली भएर त कसले विश्वास गर्ने भो र, कुन वर्गको भलो हुने भयो र ? जसको विरुद्ध लड्ने भन्या हो, उसैको भलो हुने भयो । जसको पक्षमा लड्ने भनेको हो उनैको विरुद्धमा हुने भयो ।

(पूर्वमन्त्री एवम् माओवादीका पूर्व नेता लोकेन्द्र विष्टमगरसँग गरिएको कुराकानीमा आधारित ।)

close

अईपियो अपडेट

सधै र छिटै अईपियो निष्कासनको जानकारी पाउनको लागि मेल लेख्नुहोस।

We don’t spam! Read our privacy policy for more info.

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

साताको चर्चित

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।