×
Lagani
Lagani Shiksha gif
सीप भएका युवालाई ठूलो अवसर, अनुभवकै आधारमा राष्ट्रिय प्रमाणपत्र लिन सकिने



कुनै पेशामा काम गर्दै सीप हासिल गरेका तर औपचारिक प्रमाणपत्र नभएका व्यक्तिका लागि राष्ट्रिय सीप परीक्षणमा सहभागी हुने अवसर खुलेको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गतको राष्ट्रिय सीप परीक्षण समिति (NSTB) ले पूर्व सिकाइको मान्यतामा आधारित सीप परीक्षणका लागि देशभर आवेदन आह्वान गरेको हो।

यो नयाँ सीप सिकाउने वा निःशुल्क तालिम कार्यक्रम भने होइन। पहिले नै काम, तालिम वा व्यावसायिक अनुभवबाट सीप हासिल गरेका व्यक्तिको क्षमता परीक्षण गरी राष्ट्रिय व्यावसायिक सीप मापदण्डअनुसार प्रमाणपत्र प्रदान गर्ने प्रक्रिया हो। रोजगारी वा स्वरोजगारमा रहेका, व्यावसायिक अनुभव भएका तथा वैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिकले आफ्नो योग्यता पुगेको पेशा र तहमा आवेदन दिन सक्नेछन्।

Lagani Shiksha gif
sharehubapk सीप भएका युवालाई ठूलो अवसर, अनुभवकै आधारमा राष्ट्रिय प्रमाणपत्र लिन सकिने

सीप परीक्षण बिल्डिङ तथा इन्डस्ट्रियल इलेक्ट्रिसियन, रेफ्रिजरेसन तथा एसी मेकानिक, मोटरसाइकल र हलुका सवारी मेकानिक, कम्प्युटर अपरेटर, हार्डवेयर तथा नेटवर्क टेक्निसियन, टेलर, प्लम्बर, वेल्डर, मेसन, बार्बर, बारिस्ता, बेकर, वेटर, कुक, हाउसकिपिङ, फ्रन्ट अफिस, मोबाइल फोन मर्मत तथा कृषि र पशुपालनसम्बन्धी विभिन्न पेशामा सञ्चालन हुनेछ। सबै पेशा सबै केन्द्रमा उपलब्ध नहुने भएकाले आवेदन दिनुअघि सम्बन्धित केन्द्रमा आफ्नो पेशा र तह उपलब्ध भए–नभएको यकिन गर्नुपर्नेछ।

तह १ का लागि सम्बन्धित पेशामा कम्तीमा एक वर्षको कार्य अनुभव आवश्यक छ। सम्बन्धित विषयमा तालिम लिएका व्यक्तिले भने कम्तीमा ६ महिनाको कार्य अनुभवका आधारमा आवेदन दिन सक्नेछन्। तह २ का लागि कम्तीमा तीन वर्षको अनुभव वा तह १ उत्तीर्ण गरेपछि थप एक वर्षको कार्य अनुभव आवश्यक पर्नेछ। १६ वर्ष उमेर पूरा भएपछि हासिल गरेको अनुभव मात्र गणना गरिनेछ।

आवेदन शुल्क तह १ का लागि नियमित ५०० रुपैयाँ र सहुलियततर्फ ४०० रुपैयाँ तोकिएको छ। तह २ का लागि नियमित शुल्क एक हजार २०० रुपैयाँ र सहुलियत शुल्क ७०० रुपैयाँ छ। महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा सरकारले तोकेको सहुलियत समूहमा पर्ने आवेदकले आवश्यक प्रमाण पेस गरी सहुलियत शुल्कमा आवेदन दिन सक्नेछन्।

आवेदन २०८३ भदौ १० गतेभित्र तोकिएका केन्द्रमा बुझाउनुपर्नेछ। आवेदनसँग पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपि तथा तालिम वा कार्य अनुभव पुष्टि गर्ने कागजात संलग्न गर्नुपर्नेछ। वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिले विदेशमा काम गरेको अनुभवपत्र, पासपोर्ट र भिसाको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ।

NSTB ले सातै प्रदेश र काठमाडौं क्षेत्रसमेत गरी विभिन्न स्थानमा आवेदन संकलन तथा सीप परीक्षण केन्द्र तोकेको छ। इटहरी, धनुषा, लहान, जनकपुर, हेटौंडा, बनेपा, पनौती, पोखरा, देउखुरी, तामनगर, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, टीकापुर तथा काठमाडौंका विभिन्न प्राविधिक शिक्षालयबाट आवेदन दिन सकिनेछ।

पोखरा प्राविधिक शिक्षालयमा होटल तथा हस्पिटालिटी क्षेत्रका कुक, बेकर, वेटर, बारिस्ता, बार टेन्डर, हाउसकिपिङ, फ्रन्ट अफिस तथा नेपाली कुजिन कुकजस्ता पेशामा सीप परीक्षणका लागि आवेदन खुलाइएको छ। यस्तै, पनौती प्राविधिक शिक्षालयमा हलुका सवारी तथा मोटरसाइकल मर्मतसम्बन्धी तह १ र तह २ का लागि आवेदन दिन सकिनेछ।

सीप परीक्षणको मिति, समय र स्थानबारे आवेदकलाई पछि जानकारी गराइनेछ। कुनै पेशामा स्वीकृत आवेदन संख्या तीनभन्दा कम भए उक्त पेशाको सीप परीक्षण सञ्चालन नहुन सक्ने NSTB ले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस