काठमाडौँ । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई आजदेखि बचत रकम फिर्ता दिन सुरु गरेको छ। सहकारी संकटबाट प्रभावित बचतकर्तालाई राहत उपलब्ध गराउने उद्देश्यले अधिकतम एक लाख रुपैयाँसम्म फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको हो।
समितिका अनुसार सिभिल क्रेडिट एण्ड सेभिङ, सुमेरु बचत तथा ऋण, नेशनल नमोबुद्ध बचत तथा ऋण, लालीगुराँस बचत तथा ऋण तथा दर्शन बचत तथा ऋण सहकारीका बचतकर्ताले यस योजनाबाट लाभ लिन सक्नेछन्। जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहलबाट रकम वितरण कार्यक्रम सञ्चालन गरिएको छ।
बचतकर्ताको विवरण प्रमाणीकरणको काम सम्पन्न भइसकेको समितिले जनाएको छ। बचत फिर्ताका लागि हालसम्म करिब ९ करोड रुपैयाँ व्यवस्थापन गरिएको छ। योजनाअनुसार सिभिल, सुमेरु, लालीगुराँस र नेशनल नमोबुद्ध सहकारीका साना बचतकर्ताले अधिकतम एक लाख रुपैयाँसम्म प्राप्त गर्नेछन् भने दर्शन बचत तथा ऋण सहकारीका बचतकर्तालाई अधिकतम १० हजार रुपैयाँसम्म फिर्ता गरिनेछ।
यस कार्यक्रमबाट करिब ३ हजार साना बचतकर्ता प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ। यसअघि समितिले समस्याग्रस्त सहकारीका ११४ जना ठूला ऋणीको नाम सार्वजनिक गर्दै बक्यौता ऋण तत्काल चुक्ता गर्न पनि आग्रह गरेको थियो।
















