काठमाडौं, २७ जेठ । अन्तर्राष्ट्रिय मुद्रा बजारमा आएको परिवर्तनसँगै नेपालमा पनि प्रमुख विदेशी मुद्राको विनिमयदरमा गिरावट देखिएको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको नयाँ विनिमयदरअनुसार अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङलगायत अधिकांश विदेशी मुद्राको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ।
केन्द्रीय बैंकले एक अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ २७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८७ पैसा निर्धारण गरेको छ। मंगलबारको तुलनामा डलरको मूल्य केही घटेको हो। पछिल्ला साताहरूमा डलरको मूल्यमा लगातार उतारचढाव देखिँदै आएको छ भने जेठ ७ गते यसले हालसम्मकै उच्च स्तर छोएको थियो।
युरोपियन युरोको खरिददर १७६ रुपैयाँ २१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९१ पैसा कायम गरिएको छ। त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ ०५ पैसा तथा बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा तोकिएको छ।
अस्ट्रेलियन डलरको मूल्य पनि घट्दो क्रममा देखिएको छ। राष्ट्र बैंकका अनुसार यसको खरिददर १०७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९० पैसा कायम भएको छ। पछिल्ला केही दिनयता अस्ट्रेलियन डलर निरन्तर कमजोर बन्दै गएको तथ्यांकले देखाएको छ।
त्यसैगरी, कुवेती दिनारको खरिददर ४९५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बहराइन दिनारको खरिददर ४०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ४१ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर बजारको अवस्थाअनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको आधिकारिक वेबसाइट हेर्न आग्रह गरेको छ।















