काठमाडौँ महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष गितेन्द्र बाबु राईलाई १५ दिनभित्र भाडा रकम बुझाउन अल्टिमेटम दिएको छ। भाडा असुल उपर गरी घरजग्गा खाली गराउने सम्बन्धी मुद्दामा न्यायिक समितिको निर्णय कार्यान्वयनका क्रममा महानगरपालिकाले यो सूचना जारी गरेको हो।
वादी मृगेन्द्र प्रसाद मिश्रले दर्ता गरेको मुद्दामा, न्यायिक समितिले मिश्रको दाबीअनुसार घरजग्गाको बहाल रकम र कर असुल गरी घरजग्गा खाली गराउन आदेश दिएको थियो। यो निर्णयलाई उच्च अदालत पाटनले २०८२ साउन २८ गते दुई महिनाभित्र कार्यान्वयन गर्न परमादेश जारी गरेको थियो। सोही परमादेश बमोजिम, महानगरपालिकाले २०८२ कात्तिक १४ गते टोली खटाएर निर्णय कार्यान्वयन गरिसकेको जनाएको छ।
निर्णय कार्यान्वयन भएको छ महिनापछि, वादी मृगेन्द्र मिश्रले Galaxy 4K मा रहेका सामान लिलाम गर्न माग गर्दै २०८३ वैशाख २१ गते महानगरपालिकामा निवेदन दर्ता गराएका थिए। सोही निवेदनको आधारमा, महानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित पक्षलाई अन्तिम अवसर दिएको छ।
सूचनामा उल्लेख गरिएअनुसार, १५ दिनभित्र बहाल रकम बुझाई आफ्नो सरसामान लैजान भनिएको छ। यदि तोकिएको समयभित्र सामान नलगिएमा, काठमाडौँ महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम सामान लिलाम गरिने चेतावनी समेत दिइएको छ।













