×
नेप्सेमा अब चौबिसै घण्टा अर्डर हाल्न सकिने , सर्किट ब्रेक पनि २ वटा।



सेयर लगानीकर्ताका लागि खुसीको खबर छ। अब उनीहरूले चौबीसै घण्टा सेयर खरिद-बिक्रीको आदेश (अर्डर) दिन सक्ने भएका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार विनियमावलीमा गरिएको महत्वपूर्ण संशोधनलाई धितोपत्र बोर्डले स्वीकृति दिएको छ। यससँगै, कारोबार आदेशका लागि नियमित समयको पर्खाइ समाप्त भएको छ।

नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ लाई समयसापेक्ष बनाउन संशोधन प्रस्ताव धितोपत्र बोर्डमा पेश गरेको थियो। बोर्डले केही परिमार्जनसहित उक्त प्रस्तावलाई स्वीकृत गरेको छ। विशेषगरी, सर्किट ब्रेक र कारोबार आदेशका लागि तोकिएको समयमा महत्वपूर्ण परिवर्तन गरिएको छ।

यसअघि नेप्सेले तीनवटा सर्किट ब्रेकको प्रस्ताव गरेकोमा बोर्डले त्यसलाई दुईमा सीमित गरेको छ। यसका साथै, कारोबार समयबाहेक साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म आदेश दिन सकिने व्यवस्था प्रस्ताव गरिएकोमा, बोर्डले यसलाई पूर्ण चौबीसै घण्टामा विस्तार गरेको छ। यो व्यवस्थाले विशेषगरी विदेशमा रहेका नेपाली लगानीकर्ताहरूलाई दोस्रो बजारमा सहजरूपमा लगानी गर्ने अवसर प्रदान गर्नेछ।

नयाँ व्यवस्थाअनुसार, नेप्सेको नियमित कारोबार दिउँसो ३ बजे बन्द भए पनि, लगानीकर्ताले जुनसुकै समयमा खरिद-बिक्री आदेश प्रविष्ट गर्न सक्नेछन्। यो सुविधाले प्राथमिक बजारका लगानीकर्ताहरूलाई पनि दोस्रो बजारमा प्रवेश गराउन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

नियमित कारोबार समय सकिएपछि आदेश दिने लगानीकर्ताहरूले सोही दिनको अन्तिम मूल्यका आधारमा तोकिएको सीमाभित्र मूल्य बढाएर वा घटाएर कारोबार गर्न सक्नेछन्। नेप्सेको नियमित कारोबार बिहान ११ बजे सुरु भएर दिउँसो ३ बजेसम्म चल्छ। अब संशोधित विनियमावली अनुसार, नियमित कारोबार समयबाहेक जुनसुकै समयमा अनलाइन खरिद वा बिक्री आदेश गर्न सकिनेछ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार, धितोपत्र बोर्डबाट स्वीकृत भएको संशोधन कार्यान्वयनका लागि नेप्सेको सञ्चालक समितिले निर्णय गर्नेछ र आगामी सातासम्ममा यो व्यवस्था लागू हुनेछ।

नियमित कारोबार बाहेकको समयमा गरिने आदेशका लागि कम्पनीको सेयर मूल्यमा अन्तिम मूल्यको २ प्रतिशत बढी वा घटी मूल्य तोक्न सकिनेछ। नेप्सेले यसका लागि आफ्नो कारोबार प्रणालीलाई पनि तयार गरिसकेको छ। हाल बिहान १०:३० देखि १०:४५ सम्म प्रि-ओपन कारोबार र ११ बजेदेखि ३ बजेसम्म नियमित कारोबार सञ्चालन भइरहेको छ।

यस नयाँ व्यवस्थाले गैरआवासीय नेपालीलाई समेत सेयर कारोबार गर्न सहज हुने विश्वास व्यक्त गरिएको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पनि गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न अनुमति दिन सुझाव दिएको थियो। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ९ र १० संशोधन गरी, पूँजी लगानी कोष नखडाई व्यक्तिगत रूपमा गैरआवासीय नेपाली नागरिकता परिचयपत्रको आधारमा कारोबार गर्न दिने व्यवस्था गर्नुपर्ने सुझाव आयोगको छ। साथै, दोस्रो बजारमा सेयर खरिदका लागि भित्र्याएको रकमको एक वर्षमा दुई पटक ५०-५० प्रतिशतसम्म फिर्ता लैजान पाउने व्यवस्थाले गैरआवासीय नेपालीको लगानी आकर्षित हुने सम्भावना छ।

सर्किट ब्रेकरको व्यवस्थामा पनि महत्वपूर्ण परिवर्तन गरिएको छ। हालको ३ वटा सर्किट ब्रेकर २ मा झरेको छ। बोर्डबाट स्वीकृत नयाँ व्यवस्था अनुसार, दुई सर्किट ब्रेकका लागि सीमा ५ प्रतिशत र ८ प्रतिशत तोकिएको छ। कारोबार सुरु भएको पहिलो २ घण्टामा नेप्से सूचक ५ प्रतिशतले घटेमा वा बढेमा पहिलो सर्किट ब्रेकर लागू हुनेछ र १५ मिनेटका लागि कारोबार बन्द गरिनेछ। त्यसपछि, बजार ८ प्रतिशतले बढेमा वा घटेमा सो दिनको कारोबार नै बन्द हुने व्यवस्था गरिएको छ। यसअघि नेप्सेले प्रस्ताव गरेको ४, ६, ८ प्रतिशतको सीमामा बोर्डले हेरफेर गरेको हो।

सेयर बजार सुधारका लागि गठित कार्यदलको सुझाव अनुसार, बोर्डले सर्किट ब्रेकर सम्बन्धी व्यवस्थालाई थप खुकुलो बनाएको हो। यो परिवर्तनले धितोपत्र बजारलाई थप चलायमान र लगानीमैत्री बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस