राष्ट्रिय युवा परिषद्ले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत सूचना प्रविधि तथा स्टार्टअप व्यवसायीहरूलाई लक्षित गर्दै विशेष प्रदर्शनी आयोजना गर्ने भएको छ।
यस कार्यक्रमका लागि १५ वटा उत्कृष्ट स्टार्टअप व्यवसायीहरूलाई छनौट गरी केन्द्रस्तरमा प्रस्तुति तथा प्रदर्शनी गर्ने व्यवस्था गरिएको परिषद्ले जनाएको छ। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने ६ जना व्यवसायीहरूलाई जनही २ लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ। यसले नवप्रवर्तनशील उद्यमीहरूलाई प्रोत्साहन गर्दै स्टार्टअप क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
१६ वर्ष पूरा भई ४० वर्ष ननाघेका इच्छुक युवा व्यवसायीहरूले २०८३ वैशाख ११ गते राति १२ बजेसम्म राष्ट्रिय युवा परिषद्को अनलाइन पोर्टलमार्फत आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रियालाई सहज बनाउन नेपाल उद्योग वाणिज्य महासंघ तथा विभिन्न प्रादेशिक उद्योग वाणिज्य संघहरूले सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ।
यस कार्यक्रमले युवाहरूलाई उद्यमशीलता र प्रविधिमुखी व्यवसायतर्फ आकर्षित गर्दै राष्ट्रिय स्तरमा स्टार्टअप संस्कृतिको विकासमा सहयोग पुर्याउने विश्वास लिइएको छ। आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।









