औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ले उद्यमशीलता विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा निःशुल्क स्टार्टअप (Start-up) तालिम सञ्चालन गर्ने भएको छ।
नयाँ व्यवसाय सुरु गर्न चाहने र नवीन सोच भएका युवाहरूलाई लक्षित गर्दै कार्यक्रम ल्याइएको हो। संस्थानका अनुसार कम्तीमा १०+२ (१२ पास) उत्तीर्ण व्यक्तिहरू यस तालिमका लागि योग्य हुनेछन्। इच्छुक आवेदकहरूले २०८३ वैशाख ६ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रिया अनलाइनमार्फत हुने भएकाले गुगल फारम लिंक वा इमेल प्रयोग गरेर सजिलै आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यो तालिम विशेषगरी व्यवसायिक आइडिया भएका वा नयाँ उद्यम सुरु गर्न चाहनेहरूका लागि केन्द्रित गरिएको छ। सहभागीहरूले आफ्नो सोचलाई व्यवहारमा उतार्ने तरिका, व्यवसाय योजना (Business Plan) बनाउने सीप, बजार अध्ययन, लगानी व्यवस्थापन तथा स्टार्टअप सञ्चालनका आधारभूत र व्यावहारिक ज्ञान प्राप्त गर्नेछन्।
कार्यक्रम अन्तर्गत २०८३ वैशाख १३ देखि १५ गतेसम्म अभिमुखीकरण (Orientation) कार्यक्रम सञ्चालन हुनेछ, जसमा सहभागीहरूलाई तालिमको संरचना र उद्देश्यबारे जानकारी दिइनेछ। त्यसपछि वैशाख १६ देखि २४ गतेसम्म बुटक्याम्प सञ्चालन हुनेछ, जहाँ व्यावहारिक अभ्यास, समूह कार्य, र व्यवसायिक आइडियाको प्रस्तुतीकरण गराइनेछ। संस्थानका अनुसार सहभागीहरूले आफ्नो व्यवसायिक अवधारणा प्रस्तुत गर्ने अवसर पनि पाउनेछन्, जसले भविष्यमा लगानीकर्ता समक्ष आफ्नो योजना लैजान सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यस कार्यक्रममार्फत युवाहरूलाई आत्मनिर्भर बनाउने, रोजगारी सिर्जना गर्ने र देशको आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।
उद्यमशीलता क्षेत्रमा रुचि भएका योग्य व्यक्तिहरूले तोकिएको समयभित्र आवेदन दिई यस अवसरको अधिकतम लाभ लिन सक्नेछन्।
यहाँ क्लिक गरेर आवेदन सकिनेछ ।













