सिटिजन्स बैंकको विराटनगरस्थित कञ्चनबारी शाखाबाट नक्कली ऋणी खडा गरी करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको खुलेको छ। विराटनगर–३ राजवंशी चोकमा रहेको उक्त शाखामा यस्तो अनियमितता भएको बैंकको आन्तरिक छानबिनले देखाएको हो।
आन्तरिक अनुसन्धानमा अनियमितता देखिएपछि बैंकले सम्बन्धित कर्मचारीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको छ। बैंकका सूचना अधिकारी नारायणराज अधिकारीका अनुसार सरप्राइज अडिटका क्रममा ऋण लगानी शंकास्पद देखिएपछि विस्तृत छानबिन गरिएको थियो।
उनका अनुसार जाँचका क्रममा नक्कली ऋणी देखाएर ऋण सिर्जना गरिएको पत्ता लागेको हो। ‘सरप्राइज अडिट गर्दा फेक लोन बनाएको देखियो। किस्ता नियमित नभएपछि थप जाँच गर्दा वास्तविकता खुलेको हो,’ अधिकारीले भने। उनले फेस्टिभलको समयमा ऋण प्रक्रिया तयार गरिएको देखिएको पनि बताए।
बैंकका अनुसार शाखा कार्यालय सञ्चालन विभाग प्रमुख रोजी कँडेलको अगुवाइमा नक्कली ऋणी खडा गरिएको प्रारम्भिक निष्कर्ष छ। तर बैंक स्रोतले भने यस प्रकरणमा अन्य कर्मचारीहरूको पनि संलग्नता हुन सक्ने दाबी गरेको छ।
बैंकले हिनामिना भएको रकम बराबरको धितो रोजी कँडेलको परिवारबाट संकलन गरिसकेको दाबी गरेको छ। स्रोतका अनुसार आन्तरिक रूपमा समस्या समाधान गर्ने प्रयासस्वरूप बैंकले कँडेलको परिवारबाट करिब ७ करोड रुपैयाँ बराबरको जग्गा धितो राखेपछि मात्रै प्रहरीमा जाहेरी दिएको हो।
बैंकको आन्तरिक अनुसन्धानका क्रममा कँडेलले अन्य कर्मचारीहरूको युजर आईडी प्रयोग गरेको स्वीकार गरेको सूचना अधिकारी अधिकारीले बताए। उनका अनुसार यस घटनामा ४–५ जना कर्मचारीमाथि शंका गरिएको छ।
तर कँडेल निकट स्रोतले भने अन्य कर्मचारीलाई जोगाउन बैंकले कँडेललाई मात्रै दोषी देखाउन खोजेको आरोप लगाएको छ। आफूलाई अन्यायपूर्वक फसाइएको भन्दै कँडेलले पनि जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएकी छन्।
बैंक र कर्मचारी दुवै पक्षबाट उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। मोरङका प्रहरी उपरीक्षक कवित कटवालले उजुरी प्राप्त भएपछि आवश्यक अनुसन्धान सुरु गरिएको बताए। ‘उजुरी आएपछि अनुसन्धान अघि बढाएका छौं। केही विषय स्पष्ट गर्न बैंकलाई पत्र पठाएका छौं,’ उनले भने।
उक्त शाखामा ऋण अपचलन भएको यो पहिलो घटना भने होइन। करिब पाँच वर्षअघि पनि त्यही शाखाबाट ऋण अपचलन भएको थियो। त्यतिबेला तत्कालीन शाखा प्रमुख रुपेश राजवंशीमाथि कारबाही गरिएको थियो। तर उक्त घटनामा बैंकले प्रहरीमा जाहेरी नदिएको स्रोतको दाबी छ। प्रहरीले भने त्यस घटनाबारे जानकारी नभएको जनाएको छ।









