×
प्रादेशिक अस्पताल लाहानमा असारे विकासको चटारो



मुकेश कुमार यादब/सिरहा २२ असार । विगतको तुल्नामा यस वर्ष आर्थिक वर्षको अन्त्यमा आएर आधिकांश सरकारी अड्डाहरुमा  बजेट सिध्याउने धन्दा मौलाएको छ।

देशको राजनीतिक संरचना बदलिए पनि ‘असार’मा नै बजेट सक्र्ने प्रवृत्तिमा भने कमी आएको छैन।  यसको जव्लन्त उदाहरण हो, सिरहाको लाहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल।

यस प्रादेशिक अस्पतालमा अहिले ‘असारे विकासको चटारो’ छ। अस्पतालमा फिजियो थेरापी भवनको माथी नव निर्मित ट्रसको रुम तथा फिनिसिङ गर्ने कार्यको सुरुवात असार मसान्तमा गरेको पाइएको हो। 

प्रादेशिक अस्पताल लाहानका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर शुनिल कुशवाहाले रकम हिनामिना गर्नकै लागी असार मसान्तमा मात्र ६० लाख वरावरको ६ वटा कोटेशन मार्फत निर्माण कार्य गराइरहेको  नाम नखोल्ने शर्तमा अस्पतालकै एक कर्मचारीले जनाएको छ।

ती कर्मचारीले भने, ‘जब आर्थिक वर्ष सकिन लाग्छ अनि पूर्वाधार विकासको नाममा विनाशको खेती सुरु गर्न अस्पतालका प्रमुख माहिर हुनुहुन्छ। कोटेशन मार्फत काम गराइरहेका ठेक्केदासँग प्रमुख कुशवाहाले  २० देखि ३० प्रतिशत कमिशन लिएर काम गराइरहेको छ।’

मे.सु कुशवाहाले ठेक्केदारसंगको साठगाँठमा कमअसल काम गराइरहेको स्रोतको दावी छ। ठेक्केदारले ट्रस निर्माणमा दुइ नम्वर इट्टा र प्रशोधन नगरी खोलाबाट ल्याएको गिट्टी वालुवा प्रयोग गरेको त्यहाँ कार्यरत कर्मचारीहरु नै बताउँछन्। 

डा.कुशवाहाले रकम हिनामिना गर्नकैकै लागी असार मसान्तमा धमाधम निर्माण कार्य सकाउन लागेको स्थानिय राजनितिकर्मीहरुको समेत आरोप रहेको छ। प्रादेशिक अस्पतालमा निर्माण कार्य देखि कर्मचारी भर्नामा समेत आर्थिक चलखेल हुने गरेको उनीहरुको कथन रहेको छ।    

अस्पतालका प्रमुख कुशवाहा आफैले दिएको दुईवटा स्टिमेट बजेट शिर्षकमा वाझिएको छ। उनले पठाएको ट्रस निर्माणको स्टिमेटमा प्रोजेक्टको नाम ‘‘फिजियो थेरापी भवनको माथी नव निर्मित ट्रसमा रुम तथा फिनिसिङ गर्ने कार्य’’ उल्लेख गरिएको छ। 

यसलाई नै आधार मान्ने हो भन्ने उक्त ठाउँमा ट्रस निमार्ण कार्य अधुरै राखेर पुनः कोटेशन मार्फत नव निर्मित भवनमा कोठा तथा फिनिसिङको लागी रकम विनियोजन गरिएको प्रष्ट देखिन्छ। ट्रसको काम सम्पन्न नहुदै एउटै  भवनको लागी फिनिसिङ गर्न पुनः कोटेशन लगाउनुले पनि कार्यालय प्रमुखले रकम अनियमितता गर्ने नियतले कोटेशनमा काम गराईरहेको पुष्टि गर्छ।

प्रत्येक आर्थिक वर्षको असार मसान्तको २४ गते राती १२ वजे सम्ममात्र अनलाइन चेक काटने व्यावस्था छ ।  तर यो अस्पतालमा कोटेशनमा लगाइएको काम सक्न अझै कम्तीमा १५ दिन लाग्छ। ट्रस निर्माण देखि टाइल्स, मार्वल सम्मको काम अधुरै छ। काम सम्पन्न नभएपनि भुक्तानी दिने तयारी भइरहेको स्रोतको दावी छ। 

नव निर्मित ट्रस वर्षौ पुरानो बनेको भवनमाथी निर्माण गरिएको छ। पुरानो भवनको अवस्था पनि जिर्ण छ। भवनको छतमा धेरै ठाउँमा चिरा परिसकेको छ। तर त्यहीँ माथी पुनः ट्रस निर्माण गरिएको छ।

यस सम्वन्धमा अस्पताल प्रमुख कुशवाहासंग ट्रस निर्माण र टाइल्सको काम  कस्ले र कती लागतमा हैुदैछ? भनी जिज्ञासा राख्दा उनले, ‘म अहिले बाहिर छु, सबै कागजात लेखासंग छ। मलाई अहिले सम्झना  भएन कस्ले र कती रकम विनियोजन भएको छ? भन्दै गैर जिम्मेदारी पुर्ण प्रतिकृया दिँदै फोन काटे।’ 

यता लेखा अधिकृत राज कुमार साहसंग यो काम कस्ले गराई रहेको र निमार्ण कार्य नसक्दाँपनि कसरी भुक्तानी हुन्छ? भनि जिज्ञासामा उनले, ‘कैलास कन्सट्रक्सनका प्रोप्राइटर संजय सिंहले काम गराई रहेको छ। कामहरु सबै कोटेसनमै भइरहेको छ। म कहाँ फाइल आएको छैन। सबै कोटेसनको छुटा–छुटै कन्सट्रक्सनको नाम पेस गरेपनि काम उनीहरुले नै गराएको देख्छु। भुक्तानी त काम सम्पन्न भएर फाईल आएपछि मात्रै हुने हो।’

हरेक आर्थिक वर्षको अन्त्यमा हुने असारे विकास केवल बजेट सक्ने काम मात्रै हुने गरेको जानकारहरु बताउँछन्। हरेक वर्ष विकास–निर्माणमा छुट्याइएको बजेट बालुवामा पानी हालेसरह भएको छ। छोटो समयमा काम गर्दा व्यापक आर्थिक अनियमितता भइरहेको उनीहरुको भनाई छ। असार मसान्तमा छोटो समयमा भएको विकास दिगो समेत हुँदैन। एकातर्फ वर्षातको समय र अर्को तर्फ छोटो समयमा भएको विकास कागजीरुपमा मात्र सीमित हुने र त्यसबाट कर्मचारीहरुले व्यापक भ्रष्ट्राचार गर्ने प्रवृती मौलाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस