×
Lagani
Lagani Shiksha gif
नमूना बस्तीमा समस्याका चाङ



घामपानी ओत्ने बास जमिनसँगै भाँसिएपछि ४८ वर्षीया धनमायाको परिवार पाँच वर्ष अर्कैको घरमा बस्यो । कहिले छिमेकी त कहिले आफन्तको घरमा उनीहरुका दिन बिते ।

विसं २०७२ पछि धनमाया दर्जी र १४ परिवार एकैपटक गाउँबाट बिस्थापित भए । भूकम्पले हल्लिएको जमिन एकाएक भाँसिएपछि सबैले गाउँ छोडे । पाँच वर्षपछि धनमायाको परिवारले आफ्नै घर पाएको छ । उहाँ मात्र होइन काठेखोला गाउँपालिका–५ बिहुँ काहुलेका दश परिवारले पाँच वर्षको कष्टपूर्ण समयपछि गत वर्ष आफ्नै घर पाएका हुन् ।

Lagani Shiksha gif
sharehubapk नमूना बस्तीमा समस्याका चाङ

काठेखोला–५ मा एकैनासका १० घर बनेका छन् । सरकारले बनाएको ‘नमूना बस्ती’ मा धनपाया, रुपा दर्जीलगायतका परिवार मिलेर बसेका छन् । दशवटै घरमा औषतमा पाँच जनाको परिवार बस्छन् । दुई कोठे घर जोडेर बनाइएका छन् । नमूना बस्तीको जग्गा र घरको एकमुष्ट लालपुर्जा छ ।

लामो समय आफ्नो घर छोडेर बसेको समुदायले घर त पाए तर भर भने अझै पाएका छैनन् । पुर्खौली घर भएको ठाउँमा घरसँगै गरीखाने सम्पत्ति पहिरोले बगाएको  छ । नयाँ घर बनेको ठाउँमा खुर्सानी रोप्ने जग्गासमेत नहुँदा पीडित परिवार समस्यामा छन् ।

“न खेती गरेर खाने जमिन छ, न पशु पाल्न गोठ”, धनमाया दर्जीले भनिन्, “तरकारी त फलाउन सकिन्थ्यो तर, एक टुक्रा जग्गा छैन ।” मजदुरी गरेर खाने अधिकांश परिवारमा बिहान बेलुका छाक टार्नै समस्या छ । घरायसी प्रयोजनका लागि तरकारीसमेत उत्पादन गर्न नपाउँदा थप समस्या भएको दर्जी बताउछिन् । बस्तीका दशवटै परियारमा यो समस्या छ ।

ठूलो परिवार भएकालाई नमूना बस्तीमा बनेका घर अपर्याप्त छन् । दुईकोठे घरमा परिवार अटाउनै कठिन हुने स्थानीय रुपा दर्जीले बताइन् । पाहुना आउँदा राख्ने ठाउँको त कुरै नगरौँ । एउटा कोठामा भन्छा र अर्कोमा खाँदीएर बस्नुपरेको पीडा उनीहरुसँग छ । बालबालिका खेल्ने ठाउँको अभाव छ । पीडितले सरकारसँग रोजगारको माग गरेका छन् ।

नमूना बस्तीमा खानेपानीको अभाव छ । वर्षा यामको पानी व्यवस्थापनका लागि बनाइएको नालीले पानी थेग्दैन । बस्ती वरपर बनाउने भनिएको पदमार्ग र सार्वजनिक सभाहल पनि हालसम्म बनेको छैन् । “कोरोना महामारी अघि रु ४० लाखको योजना थियो, नाली, पानी, भवन तथा बाटोका लागि,  तर कामै नभई सकियो”, उपभोक्ता समितिको अध्यक्ष समेत बनेकी धनमायाले भनिन्, “रु आठ लाखको काम गरेर नाली बनाइयो, बाँकी काम गर्न सकिएन, कोरोनापछि बजेट आएन ।”

सबै गाउँमा मोटरबाटो पुगे पनि आफूहरुको बस्तीसम्म सडक नपुगेको उनको गुनासो छ । सरकारले आफूहरुका लागि खानेपानी र सडक निर्माण गरिदिए सहज हुने धनमायाको भनाइ छ । “ठूलो घर त हामीले मागेकै छैनौँ, सके बनाउँला नसके भएकाले काम चलाउँला”, उन भनिन्, “कम्तीमा तरकारी रोपेर खाने जमिन मात्रै भए पनि बिहान बेलुका खान पुग्थ्यो ।”

गाउँपालिकाका अध्यक्ष राजु थापाले नमूना बस्तीमा रहेको खानेपानी समस्या समाधानका लागि गाउँपालिकाले योजना बनाएको उल्लेख गर्दै समस्या केही समयमै समाधान हुने बताए । उनले बस्तीसम्म सडक पुर्याउने प्रयास थालेको बताए ।

देशविदेशमा रहेका बिहुँ र बागलुङबासी तथा गाउँपालिकाको सहयोगमा जग्गा खरिद गरेर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा घर निर्माणपछि नमूना बस्ती तयार भएको थियो । बस्ती तयार भए पनि आवश्यक संरचना भने अझै तयार भइसकेका छैनन् । स्थानीयले घरको लालपुर्जा आफूसँग नभएको पीडा सुनाए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस