×
एकातिर ब्यान्ड भर्सेस ब्राण्ड, अर्कातिर घरेलु मदिरा नष्ट



खोटाङ, २० कात्तिक

प्रदेश नम्बर १ की पूर्वसामाजिक विकासमन्त्री एवं एमाले नेतृ उषाकला राईले घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘ब्यान्ड होइन ब्राण्ड’ बनाउनुपर्ने अभियान चलाइरहेको अवस्थामा खोटाङमा घरेलु मदिरा नष्ट गरिएको छ ।

‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियान्ता राईकै जिल्लामा इलाका प्रहरी कार्यालय हलेसीले हलेसीबजारका स्थानीय महिलाले उत्पादन गरेको घरेलु मदिरासहित कच्चा पदार्थ नष्ट गरेको हो । १५ कात्तिक सोमबार ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोद कार्कीको नेतृत्वको प्रहरी टोलीले ८० लिटर मदिरा र २०० लिटर कच्चा पदार्थ बरामद गरेर जनप्रतिनिधिसहितको रोहवरमा नष्ट गरेको हो ।

६ चैत २०७६ मा दिक्तेलबजारमा नौ हजार मूल्य बराबरको करिब ६० लिटर मदिरा जफत गरेर नष्ट गर्दा नेतृ राईले जनप्रतिनिधिको हैसियतमा पहिलोपल्ट सार्वजनिक रूपमा विरोध जनाएकी थिइन् । नेतृ राईले ‘ब्याण्ड भर्सेस ब्राण्ड’को चर्चा चलाउन सुरु गरेसँगै जिल्लामा मदिरा बरामद गर्ने र नष्ट गर्ने अभियानबाट प्रशासन र प्रहरी केही पछि हटेको थियो ।

‘ब्याण्ड भर्सेस ब्राण्ड’ अभियानको थालनीसँगै स्थानीय स्तरमा पनि घरेलु मदिराको औद्योगीकरणका विषयमा खुलेर बहस हुन थालेको छ । १५ असार २०७७ मा प्रदेश संसदको विनियोजन विधेयकमाथिको छलफलका क्रममा राईले घरेलु मदिरालाई व्यावसायीकरण र औद्योगीकरण गर्न सके सिंगो देशको आर्थिक संमृद्धिमा टेवा पुग्ने भन्दै राईले ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नीति अख्तियार गर्नुपर्ने धारणा राखेकी थिइन् ।

घरेलु मदिरालाई ब्याण्ड (प्रतिबन्ध) गर्ने हो भने विदेशी मदिरालाई पनि प्रतिबन्ध गर्नुपर्ने पूर्वमन्त्री राईले बताउँदै आएकी छन् । घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धनका लागि उनकै पहलमा ७० पृष्ठको सम्भाव्यता अध्ययन तथा सुझाव प्रतिवेदन तयार पारिसकिएको छ ।

राईले लोकल रक्सीमाथिको प्रतिबन्ध हटाएर ब्राण्ड बनाउनुपर्ने आवाज उठाएको केही समयपछि किरात राई यायोक्खाले १६ साउन २०७७ मा खोटाङका तत्कालीन प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै घरेलु मदिराको प्रवद्र्धन र प्रोत्साहनका लागि कानुनी मान्यता प्रदान गर्ने व्यवस्थाका लागि आग्रह गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस