×
Lagani
Lagani Shiksha gif
बाहिर चेतावनी, भित्र ठेकेदारको संरक्षण



ठेक्काको समय सकिँदा निर्माणमा २० प्रतिशत पनि प्रगति नभएपछि नारायणगढ–बुटवल सडक निर्माण गरिरहेको ठेकेदार कम्पनीको सर्वत्र विरोध भयो ।

सुरुमा नारायणगढ–बुटवल सडक आयोजना कार्यालयले ठेकेदारलाई एक महिनाको समय दिएको थियो । पछि अन्तिम मौका भन्दै थप २१ दिन पनि समय थपिदियो । तर अझैसम्म सडक विस्तारमा देखिँदो प्रगति छैन । यो खण्ड भएर यात्रा गर्ने यात्रुले दैनिक कष्ट खेपिरेहेकै छन् ।

Lagani Shiksha gif
sharehubapk बाहिर चेतावनी, भित्र ठेकेदारको संरक्षण

सडक विस्तारमा प्रगति नदेखिएपछि प्रतिनिधिसभाअन्तर्गत विकास तथा प्रविधि समितिले गत असारमा स्थलगत अध्ययन तथा अनुगमन गरेर ठेक्का रद्द गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको थियो । नारायणगढ–बुटवल सडक योजना कार्यालयले गत असोजमा यससम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरेरै सडक विस्तारमा प्रगति नभएको भन्दै ठेकेदारलाई एक महिनाको चेतावनी दिएको थियो । सूचनामा एक महिनाभित्र काममा अपेक्षाकृत प्रगति नदेखिए सीधै ठेक्का तोडिने जनाएको थियो ।

ठेक्का तोड्ने तयारी भएकै बेला २१ दिन समय थपेर कात्तिक २९ सम्म पुर्‍याइएको थियो । त्याये समय सकिँदा पनि काममा कत्ति प्रगति नदेखिएको योजना कार्यालय स्रोतले बताएको छ । तर सडक विभाग र आयोजना निर्देशनालय भने ठेकेदारले निर्माणमा सक्रियता जनाएकाले तत्काल ठेक्का नतोड्ने पक्षमा पुगेको छ । पहिला कामै नगरेको भन्दै ठेक्का तोड्ने तयारीमा लागेको विभाग अहिले ठेकेदारको पक्षमा उभिएको छ ।

ठेकेदार काम गर्ने पक्षमा रहेकाले काम गर्न केही समय दिने विभागका महानिर्देशक अर्जुनजंग थापा बताउँछन् । ‘ठेक्का तोड्न सजिलो छैन, तोडेपछि फेरि ठेक्का गर्न लागत दोब्बर पर्छ । ठेक्का प्रक्रिया लामो हुन्छ,’ उनले भने, ‘ठेकेदारलाई पटकपटक ठेक्का तोड्ने चेतावनी दिएकाले अहिले काममा केही सुधार देखिएको छ । कतैबाट गुनासा पनि आएका छैनन् ।’ त्यसैले विभाग तत्काल ठेक्का तोड्ने पक्षमा नरहेको उनको भनाइ छ । यसअघि सूचना निकाल्ने क्रममा महानिर्देशक थापाले तोकिएको अन्तिम समयमा पनि काममा कुनै प्रगति नदेखिए ठेक्का तोडिने बताएका थिए । ठेकेदारले एक वर्षदेखि दिएको निर्देशन पालनै नगरेकाले काममा प्रगति नभएको र ठेक्का तोड्ने पक्षमा विभाग पुगेको उनको भनाइ थियो । अहिले भने थापा काम गर्ने अवस्था देखिएको भन्दै ठेक्का तोड्ने पक्षमा नरहेको दाबी गर्छन् । ठेक्का सम्झौता सकिँदा निर्माणको भौतिक प्रगति २० प्रतिशत कट्न सकेको छैन । आर्थिक वर्ष ०७५/७६ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले यो सडक विस्तारको ठेक्का लिएको हो ।

यसअनुसार निर्माणको काम ०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो । सडक भत्काएर अलपत्र पारिएपछि यात्रुले आवतजावतमा सास्ती खेप्नुपरेको छ । करारको सर्तअनुसार कुनै पनि पक्षले काम नगरे सर्तबमोजिम कारबाही गरिने व्यवस्था रहेको योजना कार्यालयले जनायो । परामर्शदातासँग एक साताभित्र निर्माणको अवस्था के छ भनेर रिपोर्ट मागिएको आयोजना निर्देशनालयका निर्देशक सुशीलबाबु ढकालले बताए । ‘पहिलाभन्दा अहिले काममा सुधार भएको छ । फेरि काममा धोका हुन्छ कि भन्ने डर पनि छ,’ उनले भने, ‘चुनावलगत्तै फेरि फिल्डमा काम हेर्ने छौं, कामबारे जानकारी लिन्छौं ।’ सार्वजनिक सूचना भने ठेकेदारलाई त्रुटि सच्याउन निकालिएको उनको दाबी छ । ‘अहिले फेरि एक मौका दिन लागिएको हो,’ उनले भने, ‘काम नियमित हुन्छ/हुँदैन, हेर्छौं, त्यसपछि मात्र ठेक्का तोड्ने/नतोड्ने थप निर्णय गर्छौं ।’

अहिले काममा ठेकेदार कम्पनी गम्भीर बनेको उनले बताए । ‘तर कुन महिनामा कति प्रगति पुर्‍याउने भनेर मात्र मौका दिइनेछ, यसमा लिखित रूपमै सम्झौता गर्छौं,’ उनले भने ।

गत साउन २२ मा निर्णय गरेर पूर्वी खण्डमा ३८४ र पश्चिम खण्डका लागि ३६५ दिन म्याद थप भइसकेको छ । तर काम नगरेको खण्डमा बीचैमा ठेक्का तोड्न सकिने योजना कार्यालय स्रोतले जनायो । दुई खण्डमा विभाजन गरेर यसको ठेक्का गरिएको हो ।

सडकको कुल दूरी ११३ किमि छ । दुई खण्ड गरेर कुल ठेक्का रकम १६ अर्ब ९९ करोड रुपैयाँ छ । यसअनुसार पूर्वी खण्डको ९ अर्ब १३ करोड १८ लाख रुपैयाँ ठेक्का रकम रहेकामा अहिलेसम्म १ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । पश्चिम ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ ठेक्का रकम रहेकामा ८९ करोड ५७ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस