×
Lagani
Lagani Shiksha gif
योजना अलपत्र पार्ने निर्माण व्यवसायीको मेसिनमा नगरपालिकाको ताला



सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण कम्पनीको एक्स्काभेटर र व्याकहो लोडरमा ताला लगाएको छ ।

दिक्तेल-खोटाङबजार सडक अन्तरगत अस्पताल चोक-लफ्याङको दुबेचिवा (तीन किलोमिटर) सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै नगरपालिकाले आइतबार निर्माण कम्पनी काम ढुकुछु/बगाले/बिएनटी जेभीको एउटा एक्स्काभेटर र एउटा व्याकहो लोडरमा ताला लगाएको हो ।

Lagani Shiksha gif
sharehubapk योजना अलपत्र पार्ने निर्माण व्यवसायीको मेसिनमा नगरपालिकाको ताला

सडकको काम अधुरो छाडेर निर्माण व्यवसायीले निर्माणस्थलबाट क्रमशः मेसिनरी उपकरण अन्यत्र लैजान थालेको सूचनाको आधारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका वडाध्यक्ष एवं नगर प्रवक्ता दिनेशकुमार घिमिरेले निर्माण कम्पनीको एक्स्काभेटर र व्याकहो लोडरलाई एउटै साङ्लोले बाँधेर ताला लगाएका छन् ।

लफ्याङस्थित निर्माणस्थलमा राखिएको एक्स्काभेटर र व्याकहो लोडरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलका वडाध्यक्ष नवराज राईलगायतको उपस्थितिमा ताला लगाइएको हो । सडक स्तरोन्नतिको अवरुद्ध काम पुन: सुचारु नभइञ्जेल वा अर्को व्यवस्था नभएसम्मका लागि निर्माण व्यवसायीको मेसिनरी सामानमा तालाबन्दी गरिएको हो ।

मिस्त्री पठाएर एक्स्काभेटर र व्याकहो लोडर मर्मत गरेर अन्यत्र लैजान लागेको सूचना प्राप्त भएपछि मेयर तीर्थराज भट्टराईको निर्देशनमा ताला हालेर विज्ञाप्ती टाँस गरिएको वडाध्यक्ष घिमिरेले बताए । अन्य एक्स्काभेटर, ट्रिपर र व्याकहो लोडर भने रातारात अन्यत्र लगिसकेको बताइएको छ ।

भ्याटसहित पाँच करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँमा अस्पताल चोक-लफ्याङको दुबेचिवा सडक स्तरोन्नति गर्नेगरी ढुकुछु/बगाले/बिएनटी जेभीले ठेक्का लिएको हो । सो निर्माण कम्पनीले २८ पुस २०७९ सम्ममा सम्पन्न गर्नेगरी २० जेठ २०७८ ठेक्का सम्झौता गरेको थियो । तर बाँकी रहेको करिब दुई महिनाभित्र द्रुततर गतिमा काम गर्दासमेत योजना सम्पन्न गर्न कठिन हुने देखिएको छ ।

निर्धारित समयमा सडक स्तरोन्नतीको काम सम्पन्न नहुँदा साकेला, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकाका नागरिकलाई दुःख-सास्ती भइरहेको छ । सो सडक अलपत्र हुँदा नगरपालिकाको विकासमा अवरोध पुगेको वडाध्यक्ष घिमिरेले बताए । ‘विरामी, ज्येष्ठ नागरिक, अशक्त, वालबालिका र महिलालाई आवत-जावतमा सबैभन्दा बढी समस्या भएको छ,’ घिमिरेले भने, ‘अन्य पालिकाबाट दिक्तेल पुग्न र जिल्ला अस्पतालसम्म बिरामी ल्याउन कठिनाई हुँदा हेलीकोप्टर चाटर्ड गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यस्तो महत्वपूर्ण सडकलाई अलपत्र पार्ने निर्माण व्यवसायीको मेसिनमा ताला हाल्नु परेको हो ।’

यस्तै, अस्पतालचोक–साप्सु खोला सडक अन्तरगत दुबेचिवा–साप्सुखोला (चार किलोमिटर) सडक खण्ड स्तरोन्नतिको ठेक्का सगरमाथा सजिव आरएन जेभीले लिएको छ । सगरमाथा सजिवले भ्याटसहित दुई करोड ९६ लाख ३७ हजार ५८६ रुपैयाँमा ग्राभेल सक्नेगरी ठेक्का लिएको हो । उसले १५ माघ २०७९ सम्ममा सम्पन्न गर्नेगरी २८ चैत २०७८ मा सडक स्तरोन्नतीको सम्झौता गरेको थियो । सो खण्डको काम पनि ढिलासुस्ती देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराईले बताए ।

दिक्तेलदेखि साप्सुखोलासम्मको दुई खण्डको स्तरोन्नतिको काममा ढिलासुस्ती भएको भन्दै मेयर भट्टराई गत २७ असोजमा सडक डिभिजन कार्यालय हर्कपुर, ओखलढुंगामा डेलीगेसन पुगेका थिए । मेयर भट्टराईले कार्यालय प्रमुख इन्जिनियर अरुणकुमार लाल कर्णलाई भेटेर मौखिक स्पष्टीकरण लिएका थिए ।

यस्तै, नगरपालिकाले ३ कात्तिकको मितिदेखि ३५ दिनभित्र नगरभित्रका १७ आयोजनाको प्रगतिसहित मासिक कार्ययोजना र मासिक प्रगति विवरण बुझाउन निर्माण कम्पनीलाई निर्देशन दिएको थियो । ३५ दिनभित्र काम सुचारु नभए र तोकिएको समयसीमाभित्र काम सम्पन नहुने स्थिति सिर्जना भए नगरपालिकाबाट सम्वन्धित नियमक निकायमा निर्माण व्यवसायीलाई कालो सूचीमा राख्नेलगायतका कानुनी कारबाहीको लागि सिफारिस गर्ने तयारी गरिएको छ । तर अस्पताल चोक–लफ्याङको दुबेचिवा सडक स्तरोन्नतीको काम जिम्मा लिएको ढुकुछु/बगाले/बिएनटी जेभी भने काम सुचारु गर्नुको सट्टा अलपत्र छाडेर भाग्न लागेको मेयर भट्टराईले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस