कमेडियन अपूर्वक्षितिज सिंहविरूद्ध काठमाडौं जिल्ला अदालतमा चार वटा शीर्षकमा मुद्दा दर्ता भएको छ।
नेवा: अभियन्ताहरूले उनीविरूद्ध चार वटा शीर्षकमा जाहेरी दिएका थिए । उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ परिच्छेद-१० भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुरको दफा ६५ सार्वजनिक शान्ति खलल पार्न नहुने, दफा १६५ सामाजिक रितिस्थितिमा खलल पार्न नहुने कसुर, दफा १६६ जातपातका आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ को अपमानजनक वा अमावनीय व्यवहार गर्न नहुने कसुरमा पनि जाहेरी परेको थियो।
सरकारी वकिलको कार्यालयले उनलाई यी चार वटै मुद्दा गरी जम्मा एकदेखि पाँच वर्षसम्म कैद सजाय माग गरेको हो । दफा ६५ को उपदफा (१) बमोजिम कसुर गर्नेलाई एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुने व्यवस्था छ। दफा १६५को उपदफा (२) बमोजिम कसूर गर्नेलाई एक वर्षसम्म कैद वा १० हजारसम्म वा दुबै सजाय हुनसक्ने व्यवस्था छ। दफा १६६ को उपदफा (२) ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुनसक्ने व्यवस्था छ।
दफा १६८ को उपदफा (२)मा कसूर गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार सम्म जरिवाना गर्न सक्ने प्रावधान छ।
मुद्दा दर्ता भएपनि अदालतले हेर्न नभ्याउँदा कमेडियन अपूर्व आज पनि हिरासतमै हुनेछन्। ‘मुख्य प्रमाण भनेको भिडिओ नै हो। त्यसपछि उनको बयान पनि छ। जहाँ उहाँले बोलेको हो तर मनसाय त्यो नभएको बताएका छन्,’ स्रोतले भन्यो, ‘भोलि पनि अदालतमा पेश गरिन्छ। बयान पनि हुन्छ।’
कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्ड-अप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा हालिएको थियो।’नेवारको परम्परा’ शीर्षकमा राखिएको उक्त भिडिओको २४ घन्टा नबित्दै आलोचना र विरोध भएको थियो।
त्यसपछि अपूर्वले भिडिओ हटाएर फेसबुकमार्फत् माफी मागेका थिए।
















