घरजग्गा कारोबार सुस्त भएपनि बैंकले जग्गा खरिद तथा प्लटिङका लागि दिने ऋण भने घटेको छैन ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमासपछि यस्ता कर्जा केही घटे पनि अहिले पुरानै अवस्थामा फर्किएको देखिन्छ । गत आर्थिक वर्षदेखि घरजग्गा व्यवसाय सुस्ताएको छ । भूमि कार्यालयमा घरजग्गाको कारोबार निकै घटेको छ ।विशेषगरी बजारमा तरलताको अभाव र सरकारको कडाइका कारण घरजग्गा व्यवसाय खुम्चिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूउपयोग नियमावली, २०७९ जारी गरी काठमाडौं उपत्यकालगायत क्षेत्रमा जग्गा बाँडफाँडमा कडाई गरेको छ ।
सरकारले भू–उपयोग नियमावलीमा कृषि र आवासीय क्षेत्र विभाजनका लागि फरक–फरक मापदण्ड तोके पनि कृषि र आवासीय क्षेत्रको वर्गीकरण गर्न सकेको छैन । उता, किनेको जग्गा कृषि क्षेत्रमा पर्ने डरले व्यवसायीहरू घरजग्गाबाट टाढै बसेका छन् ।
पछिल्लो समय राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दिने कर्जाको भारित औसत लागत १५० प्रतिशत पुर्याएको छ । जसका कारण बैंकहरुको पुँजी बढी प्रयोग हुने गरेको छ । बैंकहरूले घरजग्गाभन्दा अन्य क्षेत्रमा लगानी गरेर बढी फाइदा लिन सक्छन्। त्यस्तै, चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले घरजग्गाको कर्जामा थप कडाई गर्दै अधिकतम मूल्यको ३० प्रतिशत मात्रै काठमाडौं उपत्यकाभित्र उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ ।
जग्गा खरिद गर्दा ७० प्रतिशत रकम ऋणीले तिर्नुपर्ने हुन्छ, यसका बाबजुद पनि घरजग्गामा ऋण लगानी घटेको छैन।
















