खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिननै मागभन्दा ३५ गुणा बढी आवेदन परेको छ ।
सीडीएस एण्ड क्लिएरिङ्ग लिमिटेडका अनुसार संस्थाको आईपीओमा बुधवार साझ ५ बजेसम्म ३ लाख ८१ हजार ७८२ जना आवेदकहरूबाट ४३ लाख ३८ हजार ९४० कित्ता शेयर खरीद माग भएको हो । जुन कम्पनीले सर्वसाधारणको लागि निष्कासनमा ल्याएको १ लाख २३ हजार ४०० कित्ता भन्दा ३५ गुणा बढी आवेदन हो ।
कम्पनीले बुधवारदेखि सर्वसाधारणमा १ लाख २३ हजार ४०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । निष्कासन गर्न लागेको कुल कित्ता मध्य जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।
त्यस्तै बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ। आवेदकले मेरो शेयर वेबसाइट तथा एपका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा ईक्रा नेपालले लघुवित्तलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।










