×
ज्योति विकास बैंकका कारण चार परिवार घरबारविहीन



बर्दिबास-८ की ६२ वर्षीया बालकुमारी दर्लामी मंगलबार हारगुहार गर्दै आफूहरूलाई घरबारविहीन हुनबाट बचाइदिन ज्योति विकास बैंकका शाखा व्यवस्थापक सुरज देवकोटालाई अनुरोध गरेरहेकी थिइन्।

पुस्तौदेखि बर्दिवास-८ गिरिटोलमा बस्दै आएकी दर्लामीले छोराले बैंकको कर्जा तिर्न नसकेको र ऋणबापत राखेको घरघडेरीको धितो लिलामी भएको पत्र मंगलबार नै प्राप्त गरिन् ।

IELTS PTE copy ज्योति विकास बैंकका कारण चार परिवार घरबारविहीन

बालकुमारीकै नाममा रहेको जग्गा मुख्य ऋणी जेठा छोरा मीनबहादुर दर्लामीले निर्धारित समयमा चुक्ता गर्न नसकेपछि एक बिगाहा ११ कठ्ठा १८ धुर जग्गा लिलाम भएको चिठीमार्फत बैंकले जानकारी गराएको थियो  । साे निर्णयले बालकुमारीसहित उनका तीन छोरा सडकमा आइपुगेका छन् । सोही जग्गाबाट पारिवारिक भरणपोषणको आधार वन्दै आएको वेला बैंकले कौडीको मूल्यमा अर्कैको नाममा पास गरेपछि बालकुमारीको ठूलो परिवारका सदस्य घरवारविहीन बनेका छन् ।

‘कमसेकम बैंकले समयमै जानकारी गराएको भए हामी पनि केही गर्थ्यौ होला,’ बालकुमारीका माइला छोरा हिरालाल दर्लामीले भने । उनले आफूहरूलाई जानकारी नै नगराइकन गुपचुप जग्गा लिलामी गर्नुमा गम्भीर षडयन्त्र भएको आरोप लगाए । `

बालकुमारीका जेठा छोरा मीनबहादुर दर्लामीले दुई वर्ष अगाडि सिन्धुलीमा होटल खोल्ने उद्देश्यले ज्योति विकास बैंकसँग ओडी र टर्म कर्जा गरेर ३५ लाख निकालेका थिए । २० लाख ओडी र १५ लाख टर्म कर्जा गरी मीनबहादुरले उक्त जग्गाको धितोबापत ३५ लाख पाएका थिए ।

‘समय-समयमा मैले ऋण तिर्दै आएकाे थिएँ । कोरोना माहामारी तथा विविध कारणले भनेजति किस्ता वुझाउन सकिएन तर जग्गा बेचेर भए पनि म उक्त कर्जा चुक्ता गर्नेतर्फ नै गृहकार्य गर्दै थिएँ,’ उनले भने ।

चलनचल्तीको मूल्यमा बेच्दा पनि उक्त जमिनको मूल्य दुई करोडभन्दा बढी हुन आउँछ तर बैंकले ३५ लाखमा हेटौडातिरका जग्गा व्यवसायी माधव आचार्यलाई सकारेको देखिएको छ । बैंकको प्रक्रियाअनुसार धितो लिलाम हुनुभन्दा अगाडि अंशियार तथा हकवालाहरूलाई जानकारी गराउनुपर्दछ । तर मीनबहादुरलाई पठाएको चिठीमा मिनमाया दर्लामी, हिरालाल दर्लामी, चोकबहादुर दर्लामी र बालकुमारी दर्लामीलाई बोधार्थ राखे पनि बैंकले कुनै माध्यमबाट जानकारी गराएको देखिएको छैन ।

सम्पत्ति लिलाम जस्तो विषयमा हकवालाहरूलाई थाहा नै नदिइकन बैंकले आफूखुसी धितोबापतको जग्गा किन लिलाम गर्‍यो भन्ने विषय रहस्यमय छ । कराेडौ मूल्य पर्ने उक्त जग्गा कौडीको मूल्यमा लिलाम गरेकोप्रति असन्तुष्टि जनाउँदै पीडित पक्षले बैंकको नियतमाथि नै प्रश्न उठाएकाे छ ।

जग्गा लिलाम भएपछि अहिले मीनबहादुरको भाइ-भाइमा पारिवारिक द्वन्द्व सुरु भएको छ । सम्पत्तिको नाममा रहेको सबै जग्गा बैंकले लिलाम गरेपछि जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता थपिएको छ ।

मीनबहादुरको अहिले सिन्धुली कमलामाई-७ मा गढीदरबार थकाली भान्छा घर छ । सोही होटल चलाउन मीनबहादुरले बैंकसँग उक्त रकम लिएका थिए । बैंकले धितो लिलामका सम्बन्धमा १८ जेठ २०७९ मा सात दिने सूचना निकालेको र उक्त अवधिभित्र कर्जा भुक्तान गर्ने जानकारीसहितको चिठी गढीदरबार थकाली भान्छाघरलाई सम्बाेधन गर्दै पठाएको थियो ।

‘जानकारी प्राप्त हुनासाथ म बैंकमा आएर जग्गा बेच्ने गृहकार्य गरिरहेको छु, मान्छे पनि तयार छ्न्, मलाई केही समय दिनुस् भन्दा उहाँहरूले हुन्छ भनेर लिलाम पो गरिदिनु भएछ,’ मीनबहादुरले भने । चिठीको मितिअनुसार लिलामको प्रक्रियामा गएको जानकारी १८ जेठ २०७९ उल्लेख गरिएको छ, तर हकवालाहरूले ६ असार २०७९ मा उक्त चिठी प्राप्त गरेका छन् ।

बर्दिवासस्थित ज्योति विकास बैंकका व्यवस्थापक सुरज देवकोटाले भने लिलामी प्रक्रियाअनुसार नै भएको दाबी गरेका छ्न् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस