यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुलाएको छ ।
विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो । यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो ।
विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोस पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाइन आवेदन दिन सकिने जानकारी दिएका हुन् । सबराइ चालक अनुमतिपत्रको लागि आवेदन दिनको लागि https://applydl.dotm.gov.np/ मा गइ आफ्नो अकाउन्ट बनाएर फाराम भर्नु पर्ने हुन्छ।
अनलाइन एप्लिकेसनको पोर्टल खोलिसकेपछि ‘साइनअप’ मा जानुहोस् । त्यहाँ आफ्नो नाम, थर जन्ममिति, मोबाइल नम्बर, पासवर्डसँगै एउटा सेक्युरिटी प्रश्न पनि सेट गर्नुहोस् । अब साइनअप गरेपछि तपाईंले अघि राखेको मोबाइल नम्बरमा ओटीपी कोड आउँछ । एसएमएसमा आएको ओटिपी कोड यहाँ राखेर ‘कन्फर्म’ थिच्नुहोस ।
अब तपाईं एप्लिकेसन पोर्टलमा जानुहुनेछ । त्यहाँ तपाईंलाई युजरनेम पनि दिइएको हुन्छ, यो युजरनेम र अघि साइनअप गर्दा सेट गरेको पासवर्डमार्फत तपाईंले आफ्नो प्रोफाइलमा लगईन गर्न सक्नुहुन्छ । यसलाई एप्लिकेसन दिइसकेपछि पनि आफ्नो डिटेल्स हेर्नका लागि पनि प्रयोग गर्न सक्नुहुन्छ ।
अब पर्सनल डिटेल्समा क्लिक गर्नुहोस् । त्यहाँ नाम, ब्लड ग्रुप, जन्ममिति, पायक पर्ने कार्यालय, अभिभावकको विवरण लगायत सबै जानकारी भर्दै जानुहोस् । सब्मिट गरिसकेपछि आफ्नो विवरण सही छ छैन पुनः जाँचेर टिक लगाई फेरि सब्मिट गर्नुहोस् । पर्सनल डिटेल्स भरिसकेपछि तपाईंलाई एड्रेसमा लगिनेछ । त्यहाँ आफ्नो स्थायी र अस्थायी ठेगाना भर्नुहोस् । यति गरिसकेपछि यसलाई सब्मिट गर्नुहोस् ।
यससँगै अब तपाईंले आफ्नो नागरिकतामा आधारित तीन पुस्ते विवरण भर्नुपर्ने हुन्छ । सबै विवरणहरु भर्दै जानुहोस् । तीन पुस्ते विवरणमा बाजे, बाबा र आमाको नाम भर्नुहोस् । यसलाई टिक लगाएर सब्मिट गर्नुहोस् । यसपछि तपाईंलाई पासपोर्ट विवरणमा लगिनेछ । यो भने अप्सनल छ । यसलाई सजिलै स्किप पनि गर्न सक्नुहुन्छ । लाइसेन्स मा पासपोर्ट नम्बर छपिएर आओस् भन्ने चाहनुहुन्छ भने पासपोर्ट विवरण पनि भर्नुपर्ने हुन्छ ।
अहिलेसम्म तपाईंको एउटा प्रोफाइलमात्र बनेको छ । अब बल्ल तपाईंले अनलाइन आवेदन दिने प्रक्रिया सुरु हुन्छ । त्यसका लागि अपलाई फर ड्राइभिङ लाइसेन्स ‘Apply for driving license’ मा क्लिक गर्नुहोस् । त्यहाँ देखिएको चेकबक्समा टिक लगाएर नेक्स्ट गर्नुहोस् ।
आफूले ड्राइभिङ लाइसेन्स लिन लागेको सवारी साधन छान्नुहोस् । अपाेइन्टेन्टका लागि कार्यालय छनोट गर्नुपर्ने हुन्छ । चलाइरहेको सवारीभन्दा अन्य वर्गको सवारीको अनुमतिपत्र लिनका लागि सोहि अप्सन छान्नुहोस् । ड्राइभिङ लाइसेन्स छिटै चाहिने वा अत्यावश्यक छ भने ‘अप्लाई फर अर्जेन्ट’ मा गएर आवेदन दिन सक्नुहुन्छ । अब डेट छनोट गर्नुपर्ने हुन्छ ।
डेट छनोटमा निकै समस्या देखिएको हुन्छ । कार्यालय आफैंले आवेदन कोटा निश्चित गरेकाे हुनाले कोटा पुगेपछि आवेदन लिँदैन त्यसैले डेट सेलेक्सनमा समस्या देखाएको यातायात व्यवस्था विभागको भानाइ छ । त्यसैले डेट सेलेक्सनमा समस्या छ भने तपाईंले अर्को कुनै कार्यालयमा प्रयास गर्न सक्नुहुन्छ ।
डेट सेलेक्ट भइसकेपछि तपाईंलाईं ओटीपी आउँछ । तपाईंको मोबाइलमा आएको ओटीपीलाई यसमा राखेर कन्फर्म गर्नुहोस् । कन्फर्म भइसकेपछि तपाईंले भरेको विवरणको आधारमा आवेदन फर्म देखिन्छ ।
त्यो फर्मलाई डाउनलाेड गरेर अपोइन्टमेन्ट सेलेक्ट गरेको मितिमा अफिस भिजिट गर्न सक्नुहुन्छ ।

















