


छायाँ देवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले आईपीओ निष्कासन गर्नको लागी प्रभु क्यापिटललाई शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्ति सम्बन्धी सम्झौतामा छायाँ देवी कम्प्लेक्सका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले आइतवार हस्ताक्षर गरेका छन् ।
हाल कम्पनीले काठमाडौंको ठमेलमा पाँचतारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ । १५ रोपनी क्षेत्रफलमा फैलिएको छायाँ सेन्टरमा रहेको पाँचतारे होटल ‘अलफ्ट ब्राण्डमा सञ्चालन भइरहेको छ । पर्यटकहरूको मुख्य आकर्षणको केन्द्र ठमेलमा अवस्थित अलफ्ट होटलको नामले परिचित १४ तल्लामा सञ्चालित होटलमा १७५ वटा डिलक्स कोठा छन् ।
छायाँ देवी कम्पलेक्सको करीब ३ लाख ५० हजार वर्ग फिटभन्दा धेरै निर्माण क्षेत्र रहेको छ । ठमेलको मध्यभागमा अवस्थित छायाँ देवी कम्पलेक्स नेपालकै ठूलो मध्येको एक मेगा कम्प्लेक्स भएको कम्पनीको दाबी छ ।