×
लगानी विविधिकरण कसरि गर्ने ? कस्तो शेयरमा कम जोखिम हुन्छ , जान्नुहोस



लगानी विविधिकरण

आफुसँग भएको पुँजीलाई धितोपत्र लगायतका विभिन्न सम्पत्तिमा लगानी गर्ने कार्यलाई लगानी विविधिकरण भनिन्छ । धितोपत्रमा मात्रै लगानी गर्दा पनि केही धितोपत्रमा नोक्सानी भएमा अन्य धितोपत्रमा नाफा हुँदा खुद नाफामा वृद्धि हुन सक्दछ । लगानीकर्ताले आफूसंग भएको रकम लगानी गर्दा कुन कुन धितोपत्रहरु बढी जोखिमयुक्त तथा उच्च प्रतिफल दिने खालका छन् भन्ने तथ्य बुझी लगानी विविधिकरण गर्नु बुद्धिमानी हुन्छ ।विभिन्न प्रकृतिका धितोपत्रहरुका विभिन्न परिमाणमा लगानी गरी जोखिमलाई न्यून गर्ने तथा लगानी प्रतिफलमा वृद्धि ल्याउने विधिको प्रयोग बढ्दै गइरहेको छ । नेपाल धितोपत्र बोडर्डबाट अनुमति प्राप्त लगानी व्यवस्थापकहरु बाट पोर्टफोलियो लगानी सेवा पनि प्राप्त गर्न सकिन्छ ।

सेयरमा जोखिम
साधारण सेयरमा लगानी गर्ने लगानीकर्तालाई सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ । साथै कम्पनी नाफामा गएमा नगद लाभांश तथा बोनस सेयर प्राप्त हुने तथा धितोपत्रको बजार मूल्य बढ्दै गएमा पुँजीगत लाभ (बिक्री मूल्य र खरिद मूल्यको अन्तर) समेत प्राप्त हुन सक्दछ ।
कम्पनीले हकप्रद सेयर निष्काशन गरेमा सो खरिद गर्ने पहिलो हक समेत साधारण सेयरधनीलाई प्राप्त हुन्छ । तर कम्पनी नोक्सानमा गएमा साधारण सेयरधनीहरुले लाभ प्राप्त गर्न नसक्नुका साथै आफ्नै लगानी रकम समेत डुब्ने सम्भावना हुन्छ । यसरी साधारण सेयरमा जति बढी लाभको सम्भावना रहन्छ त्यति नै बढी जोखिमको सम्भावना समेत रहनाले यसलाई अन्य धितोपत्र भन्दा बढी जोखिमपूर्ण मानिन्छ ।

कम जोखिमयुक्त धितोपत्र
धितोपत्र बजार सम्बन्धी पर्याप्त जानकारी नभएका र बढी जोखिम लिन नचाहने लगानीकर्ताहरुले सामूहिक लगानी कोषहरु (म्युचुअल फन्डमा लगानी गर्न सक्दछन् । यस्ता कोषहरुले लगानीकर्ताहरुलाई एकांक निष्कासन गर्दछन् र संकलित रकम विभिन्न किसिमका धितोपत्रहरुमा दक्ष तथा ब्यावसायिक रुपमा लगानी गर्ने कोषहरुको उद्देश्य रहेको हुन्छ ।यसरी गरिएको लगानीबाट प्राप्त प्रतिफलमा कोषले व्यवस्थापन शुल्क तथा अन्य खर्चहरु कटाई बाँकी रकम सम्बन्धित लगानीकर्ताहरुलाई नै वितरण गर्दछ ।

म्युचुअल फन्डको खुलामुखी योजनामा लगानीकर्ता जुनसुकै समयमा पनि सहभागी हुनसक्छन । यस्तो योजना परिपक्व हुने निश्चित अवधि तोकिएको हुदैन । लगानीकर्ताले आफुँसंग भएको एकांक जनुसुकै समयमा बेच्न सक्छन र किन्न पनि सक्छन । प्रचलित खुद सम्पत्ति मूल्यका आधारमा यसको किनबेच हुन्छ । म्युचुअल फन्डको बन्दमुखी योजना निश्चित परिमाण र निश्चित समयका लागि सञ्चालित हुन्छ । पूर्व निर्धारित समयावधिमा लगानीकर्ताले योजनाको एकांक किन्न पाउँछन । योजना परिपक्व भएपछि लगानीकर्ताले प्रचलित खुद सम्पत्ति मूल्यमा एकांक बिक्री गर्छन ।

लगानीको उद्देश्य
धितोपत्रमा लगानीको मुख्य उद्देश्यहरुमा सुरक्षित, उच्च प्रतिफल तथा तरलता हुनुपर्छ । एउटा उद्देश्य प्राप्त गर्न खोज्दा अर्को उद्देश्यमा असर पर्ने हुँदा यी उद्देश्यहरुमा आवश्यक सन्तुलन कायम गर्नुपर्दछ । धितोपत्रमा सुरक्षित लगानी भनेको तुलनात्मक विषय हो । कुनै धितोपत्र बढी जोखिमयुक्त हुन्छन भने कुनै कम । शुन्य जोखिम भएका धितोपत्र हुदैनन्। त्यसैले आफ्नो जोखिम वहन गर्न सक्ने क्षमता अनुसारको धितोपत्र रोज्नुपर्छ ।

धितोपत्र वा अन्य कुनै व्यापार व्यवसायमा जोखिम र प्रतिफल एकअर्कासँग जोडिएका विषय हुन् । प्राय उच्च प्रतिफल दिने धितोपत्रहरुमा जोखिम पनि उच्च नै हुन्छ । लगानीकर्ता जोखिम र प्रतिफलबीचको यो सम्बन्ध बारे जानकार हुनुपर्छ । परेको बेला तुरुन्तै बेचेर नगदमा परिणत गर्न सकिने धितोपत्रलाई तरल भनिन्छ । स्टक एक्सचेन्जमा बारम्बार कारोबार हुने धितोपत्रहरु तरल हुन्छन् ।

धितोपत्र कति प्रकारका हुन्छन् ?
धितोपत्रलाई वर्गीकरण गर्ने धेरै आधारहरु छन् । प्रतिफल तथा जोखिमका आधारमा धितोपत्र विशेष गरी तीन प्रकारका हुन्छन् । उच्च लाभ तथा उच्च जोखिम हुने धितोपत्र । यो वर्गमा सेयर पर्छ । मध्यम लाभ तथा मध्यम जोखिम हुने वर्गमा अग्राधिकार सेयर, संस्थागत ऋणपत्र (डिबेञ्चर), सामूहिक योजनाका एकांकलाई राख्न सकिन्छ । न्यून जोखिम तथा न्यून प्रतिफल प्राप्त हुने वर्गमा सरकारी ऋणपत्र लाई राख्न सकिन्छ ।

संगठित संस्थाको दायित्व तथा उसले वितरण गर्ने प्रतिफल माथिको अधिकारका आधारमा पनि धितोपत्रहरुको वर्गीकरण गर्न सकिन्छ । दाताहरुलाई निश्चित प्रतिफल (ब्याज) दिने गरी जारी गरिएको धितोपत्र ऋणपत्र हुन् । कम्पनी विघटन हुने अवस्थामा भुक्तानी लिने पहिलो पालो ऋणपत्र धनीहरुको हुन्छ ।

साधारण सेयरमा सेयरधनीहरु लाई बाँड्ने प्रतिफल पहिल्यै निश्चित गरिएको हुदैन् । कम्पनी विघटन हुने अवस्थामा भुक्तानी लिने पालो सेयरधनीहरुको अन्तिममा आउँछ । अग्राधिकार सेयरलाई सामान्यतया ऋणपत्र र साधारण सेयरको मिश्रित गुण भएको धितोपत्रका रुपमा लिन सकिन्छ । कम्पनीले वितरण गर्ने प्रतिफलमा साधारण सेयरधनी भन्दा अग्राधिकार सेयरधनीको अधिकार अगाडि आउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस