कोशी प्रदेश सरकारले नवप्रवर्तनशील व्यवसायलाई प्रोत्साहन गर्न “स्टार्टअप उद्यम बिउँपूँजी परिचालन कार्यविधि, २०८२” लागू गरेको छ। यस कार्यविधिअनुसार नयाँ सोच, प्रविधि र उच्च वृद्धि सम्भावना भएका स्टार्टअप उद्यमलाई अधिकतम १० लाख रुपैयाँसम्म बिउँपूँजी उपलब्ध गराइनेछ।
प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७७ र विनियोजन ऐन, २०८२ को आधारमा तयार गरिएको यो कार्यक्रमअन्तर्गत रकम दुई किस्तामा दिइने व्यवस्था छ। सम्झौतापछि पहिलो किस्ता (२०%) उपलब्ध गराइनेछ भने बाँकी रकम कार्य प्रगति तथा सम्पन्नताका आधारमा दिइनेछ। यो बिउँपूँजीमा कुनै ब्याज वा सेवा शुल्क लाग्ने छैन, तर बैंक ग्यारेन्टी अनिवार्य हुनेछ।
कसले पाउँछन् ?
कोशी प्रदेशभित्र दर्ता भएका प्राइभेट फर्म, कम्पनी वा सहकारीका रूपमा सञ्चालनमा रहेका, १० वर्ष ननाघेका र वार्षिक कारोबार १५ करोड रुपैयाँभन्दा कम भएका उद्यम मात्र योग्य मानिनेछन्। आयातमा आधारित व्यवसाय, कालोसूचीमा परेका उद्यम तथा पहिले नै सरकारी अनुदान लिइसकेका व्यवसाय भने यसबाट बाहिर रहनेछन्।
कसरी हुन्छ छनोट ?
उद्यम प्रस्तावको मूल्याङ्कन गर्दा प्रविधिको प्रयोग, नवप्रवर्तन, बजार सम्भावना, कच्चापदार्थको उपलब्धता, जोखिम व्यवस्थापन लगायतका सूचकलाई आधार बनाइनेछ। न्यूनतम ५० प्रतिशत अंक प्राप्त गर्ने प्रस्ताव मात्र छनोटमा पर्नेछन्।
कुन क्षेत्रमा अवसर ?
कृषि, उत्पादन, पर्यटन, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, फोहोर व्यवस्थापन लगायतका विविध क्षेत्रमा स्टार्टअपहरूलाई प्राथमिकता दिइनेछ। विशेषगरी सरकारी सहयोग नलिएका नयाँ उद्यमलाई प्राथमिकता दिने व्यवस्था गरिएको छ।
उद्यमीको जिम्मेवारी
बिउँपूँजी प्राप्त गरेपछि उद्यमीले नियमित प्रगति प्रतिवेदन पेश गर्नुपर्नेछ। साथै, अनुगमनमा सहयोग गर्नुपर्नेछ र रकम दुरुपयोग भएको पाइएमा सम्झौता रद्द गरी रकम असुल गरिने व्यवस्था छ।
कसरी दिने आवेदन ?
इच्छुक उद्यमीहरूले वैशाख १५ गतेभित्र तोकिएको ढाँचामा मन्त्रालय वा जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा परियोजना प्रस्ताव पेश गर्नुपर्नेछ। कार्यविधि, फाराम तथा थप जानकारीका लागि आधिकारिक वेबसाइट www.moiac.koshi.gov.np मा हेर्न सकिन्छ। साथै, नजिकको घरेलु तथा साना उद्योग कार्यालयमा सम्पर्क गरी पनि विस्तृत जानकारी लिन सकिनेछ।







