बुद्ध एयरले नेपालकै पहिलो एटीआर ७२-६०० विमान थपेको छ । कम्पनीले यो विमानलाई आधुनिक प्रविधि, उच्च सुरक्षा, इन्धनको किफायती प्रयोग तथा यात्रुका लागि थप आरामदायी यात्राको अनुभव दिने नयाँ पुस्ताको विमानका रूपमा सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार ९एन-एओएस दर्ता नम्बर रहेको यो विमान अत्याधुनिक उडान प्रणालीसँग सुसज्जित छ । यसमा रहेको आधुनिक उडान उपकरण र आरएनपी-एआर प्रविधिले उडान सञ्चालनलाई अझ भरपर्दो, सुरक्षित र प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास गरिएको छ ।
बुद्ध एयरले यो विमानको आगमनसँगै नेपालभर सुरक्षित, भरपर्दो र आधुनिक हवाई सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता थप बलियो भएको जनाएको छ ।
कम्पनीले नयाँ विमान थपिनु नेपाली हवाई सेवाको विकासमा अर्को महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यात्रुहरूको विश्वास र साथप्रति आभार व्यक्त गरेको छ ।
यो विमान फ्रान्सको एयरबस र इटालीको लियोनार्दो कम्पनीको संयुक्त साझेदारीमा रहेको एटीआर कम्पनीले निर्माण गरेको हो । यो विमानमा एकपटकमा ७० देखि ७८ जना यात्रुसम्म यात्रा गर्न सक्ने क्षमता रहेको छ । विमानमा दुईवटा प्राट एन्ड ह्विट्नी पीडब्लु १२७ एम टर्बोप्रप इन्जिन जडान गरिएका छन्, जसमा छ पात भएको प्रोपेलर प्रयोग गरिएको छ। यसले इन्धनको खपत कम गर्दै प्रभावकारी उडान सञ्चालनमा सहयोग पुर्याउँछ ।
एटीआर ७२–६०० ले करिब १ हजार ५२८ किलोमिटरसम्म उडान भर्न सक्छ । यसको औसत उडान गति करिब २७५ नटिकल नट (झण्डै ५१० किलोमिटर प्रतिघण्टा) रहेको छ ।
यो विमानको अर्को विशेषता यसको माथिल्लो भागमा रहेको पखेटाको बनावट हो, जसले दुर्गम तथा क्षेत्रीय विमानस्थलमा सञ्चालनलाई सहज बनाउँछ । साथै, धेरैजसो एटीआर ७२–६०० विमानमा यात्रु चढ्न र ओर्लिनका लागि विमानमै जोडिएको भर्याङ हुने भएकाले छुट्टै भर्याङको आवश्यकता पर्दैन र यात्रु चढाउने तथा ओर्लाउने प्रक्रिया छिटो सम्पन्न हुन्छ ।
आधुनिक प्रविधि, इन्धनको किफायती प्रयोग, उच्च सुरक्षा मापदण्ड र क्षेत्रीय विमानस्थलमा सहज सञ्चालनका कारण एटीआर ७२–६०० अहिले विश्वका लोकप्रिय क्षेत्रीय यात्रुवाहक विमानमध्ये एक मानिन्छ ।
















