×
यस्तो छ नेपालको ७ महिनाको आर्थिक र वित्तीय स्थिति ( सम्पूर्ण डाटा सहित )



नेपाल राष्ट्र बैंकले नेपालको आर्थिक र वित्तीय स्थिति बारे समिक्षा प्रस्तुत गरेको छ।

उक्त समिक्षा अनुसार ०७७ माघ मसान्तमा २५२६.९ रहेको नेप्से सूचकाङ्क २०७८ माघ मसान्तमा २८०१.६ पुगेको छ । २०७८ माघ मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.३९५९ अर्ब ६५ करोड पुगेको छ । २०७७ माघ मसान्तमा बजार पुँजीकरण रु.३४०६ अर्ब १७ करोड रहेको थियो । २०७८ माघमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २२६ पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ४७ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन । २०७७ माघमा सूचीकृत कम्पनीहरूको संख्या २१६ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६५.८ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.८ प्रतिशत, लगानी कम्पनीको ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.५ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.७ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ माघसम्ममा सूचीकृत ६ अर्ब ५६ करोड शेयरको चुक्ता मूल्य रु. ६४६ अर्ब ८४ करोड रहेको छ । आर्थिक वर्ष २०७८/७९ को सात महिनासम्ममा रु.४६ अर्ब १६ करोड बराबरको डिबेन्चर, रु.१५ अर्ब ८६ करोड बराबरको साधारण शेयर, रु.१० अर्ब ९६ करोड बराबरको बोनस शेयर, रु.९ अर्ब १८ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.८५ अर्ब ९१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.३ अर्ब ८० करोड बराबरको डिबेन्चर, रु.३ अर्ब बराबरको म्युचुअल फण्ड, रु.२ अर्ब ८४ करोड बराबरको साधारण शेयर र रु.२ अर्ब ३ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.११ अर्ब ६७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

२०७८ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.९६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को सात महिनामा कुल वस्तु निर्यात ८८.३ प्रतिशतले वृद्धि भई रु.१३१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११३.० प्रतिशत र २७.७ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १२.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुस लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, जडीबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।

ड। आर्थिक वर्ष २०७८/७९ को सात महिनामा कुल वस्तु आयात ४२.८ प्रतिशतले वृद्धि भई रु.११४७ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात नगन्य अर्थात्०.०१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३०.९ प्रतिशत, ४२.३ प्रतिशत र ८३.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ ।

वृहत आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४८.२ प्रतिशत र ५१.७ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात्०.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३२.४ प्रतिशत, ०.६ प्रतिशत र ६७.० प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.७ प्रतिशत, पुँजीगत वस्तुको १०.९ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३५.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.३ प्रतिशत, ११.९ प्रतिशत र ३४.८ प्रतिशत रहेका थिए ।

 

स्रोत : नेपाल राष्ट्र बैंक 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर
2 3

ताजा समाचार

लोकप्रिय
सिफारिस