सामाजिक सञ्जालमा यतिबेला एउटा भिडियो भाइरल छ, जसमा आफूलाई नेपाली बताउने एक युवक युक्रेनको रक्षाका लागि सेनामा भर्ती हुन आएको बताउँछन्।
प्रताप बस्नेत नाम बताउने ती युवकले अङ्ग्रेजीमा बोलेको र युक्रेनी भाषाको सबटाइटल रहेको सोही भिडियोकै आधारमा विभिन्न अनलाइनहरुले पनि समाचार बनाएका छन्। केही अनलाइनहरुले भिडियोमा नेपाली सबटाइटल समेत राखेका छन्।
के साँच्चै उनी नेपाली नागरिक हुन्? उनी कहिलेदेखि युक्रेनमा छन्? हामीले तथ्य जाँच गरेका छौँ।
कहाँ कस्तो समाचार ?

नागरिकन्युजले फेसबुकमा अपलोड गरेको यो भिडियो आइतबार मध्यरातसम्म साढे ३ लाखले हेरिसकेका छन्। भिडियो ८२३ ले सेयर गरेका र १६ सयले कमेन्ट गरेको र १५ हजार रियाक्सन देखिन्छ। नागरिकन्युजले राखेको यो भिडियोमा कुनै स्रोत खुलाइएको छैन।

त्यस्तै देशसञ्चारले अपलोड गरेको उनको सोही भिडियोमा ९१५ सेयर र ८७७ कमेन्ट र १० हजार रियाक्सन आइतबार मध्यरातसम्म देखिन्छ। देशसञ्चारले पनि भिडियोको स्रोत खुलाएको छैन।
भिडियोलाई नै आधार बनाएर थुप्रै अनलाइनहरुले पनि समाचार बनाएका छन्-
के हो भिडियोको स्रोत ?
यो भिडियोलाई सबैभन्दा पहिला सामाजिक सञ्जालमा राख्ने मध्ये एक हाल बेलायतमा रहेका चिरन शर्माले राजदूतसमेत रहेको एउटा सामाजिक सञ्जालको ग्रुपमा कसैले यो भिडियो अपलोड गरेको जानकारी दिए। भिडियोको स्रोत खोज्दै जाँदा भिडियोमा प्रयोग भएको यो लोगोमा हाम्रो ध्यान गयो।
गुगलमा खोज्ने क्रममा पत्ता लाग्यो– यो रेडियो फ्रि युरोप/रेडियो लिबर्टीको लोगो हो। अमेरिकी सरकारको लगानी र नियन्त्रण रहेको यो रेडियोले पूर्वी युरोप र मध्य एसियासहित २३ देशमा २७ भाषामा कार्यक्रम प्रसारण गर्छ। शितयुद्धका बेला रेडियो लिबर्टीले सोभियत युनियनलाई लक्षित गर्दै आफ्ना कार्यक्रम प्रसारण गर्ने गर्थ्यो।
यही रेडियोको भेरिफाइड फेसबुक पेज र ट्विटर ह्यान्डलमा यो भिडियो राखिएको हो।

रेडियो लिबर्टीको फेसबुक पेजमा मार्च २, २०२२ (बुधबार) बिहान नेपाली समय अनुसार १० बजेर ५५ मिनेटमा राखिएको यो भिडियोको शीर्षक छ- युक्रेनको रक्षामा नेपाली।

त्यसैगरी रेडियो लिबर्टीकै भेरिफाइड ट्विटर ह्यान्डलमा यो भिडियो बुधबार बिहान नेपाली समय अनुसार १० बजेर १ मिनेटमा अपलोड भएको देखिएको छ।
के उनी नेपाली हुन् ?
प्रताप बस्नेत नामको र भिडियोमा देखिएको हुलियाको कोही व्यक्ति फेसबुक लगायतका सामाजिक सञ्जालमा खोज्दा भेटिएको थिएन।
तर भिडियो भाइरल भएकै साँझ (बुधबार) भाइरल भएको भिडियोकै स्क्रिनसट प्रोफाइल पिक्चरमा राखिएको एउटा फेसबुक अकाउन्ट सक्रिय देखियो।

तर यो फेसबुक अकाउन्ट शंकास्पद देखिन्थ्यो।
त्यही एउटा बाहेक उनका अरु कुनै पनि फोटो त्यहाँ अपलोड भएको देखिएको थिएन। उनले मिडियाकर्मी लगायत अरुको फ्रेन्ड रिक्वेस्ट स्वीकार त गरिरहेका थिए, तर कसैसित पनि बोलेका थिएनन्।
हामीले बोल्नका लागि गरेको आग्रहमा पनि उनी मौन रहे।
यो शंकास्पद फेसबुक अकाउन्टबाट कुनै पनि पोस्ट गरिएको थिएन, अरुले ट्याग गरेका पोस्टहरु मात्र देखिएका थिए।
त्यो अकाउन्टको बेसिक इन्फोको जेन्डरमा मेल नभई फिमेल राखिएको थियो। हाल यो फेसबुक अकाउन्ट डिएक्टिभेट गरिएको छ।
नोभेम्बरमा श्रम स्वीकृति, मार्चमा ‘युद्ध’
लामो समयको प्रयासपछि विभिन्न सम्पर्क स्रोतबाट हामीले प्रताप बस्नेत काठमाडौँ निवासी भएको पत्ता लगायौँ। हामीले उनीसित मेसेजिङ एपमार्फत् कुरा गर्ने प्रयास गर्यौँ। तर उनले च्याटमा जवाफ फर्काए, ‘म अहिले बोल्न सक्दिनँ। कुनै पनि बेला, जे पनि हुनसक्छ। कृपया म र मेरो स्थिति बुझ्नुस्।’
यद्यपि उनले अडियोमा नेपाली भाषामा छोटो सन्देश भने पठाए। उनको यो आवाज भाइरल भएको भिडियोसित मिल्छ।
उनीसित युक्रेनको अस्थायी आवास अनुमति पनि देखियो।

हामीले उनी युक्रेनमा कहिले गएको भन्ने पुष्टि गर्नका लागि वैदेशिक रोजगार विभागको श्रम स्वीकृति खोज्यौँ। त्यसमा पाइएको जानकारी अनुसार प्रताप कुनै म्यानपावर कम्पनीबाट नभई स्वयं युक्रेन गएका थिए। उनको श्रम स्वीकृति गएको नोभेम्बर २८ तारिखमा भएको देखिन्छ।

दुई वर्षको कन्ट्र्याक्ट पिरियड लिएर युक्रेनको एउटा फूड कम्पनीमा फूड प्याकरको काम गर्न उनी युक्रेन पुगेको पुष्टि भयो। सामान्यतया श्रम स्वीकृति पाएको केही दिनमा नै श्रमिक रोजगार पाएको देशमा जाने गर्छ। उनी पुगेको दुई महिनामै युक्रेनमा रुसी आक्रमण भएको देखिन्छ।
तथ्य जाँच
दावी : युक्रेनमा प्रताप बस्नेत नामका एक नेपाली युक्रेनी सेनामा भर्ती भएर रुस विरुद्ध लडिरहेका हुन्?
तथ्य : सही सूचना। हामीले तथ्य जाँचका क्रममा प्रताप बस्नेतको युक्रेनको अस्थायी आवास कार्ड रहेको, युक्रेन जानका लागि उनले वैदेशिक रोजगार विभागबाट स्वीकृति लिएको पुष्टि गर्यौँ। युक्रेनको पक्षमा लड्न सैनिक क्याम्पमा जाँदै गरेको उनको भाइरल भएको भिडियो रेडियो लिबर्टीका आधिकारिक सोसल मिडियाबाट प्रवाह भएको भेट्यौँ। ( NepalFactCheck.orgको सहयोगमा )
















