साताको पहिलो दिन सेयर बजार एक सय पाँच अंकले बढेको छ । नेप्सेका सबै परिसूचक हरियाली छाएको छ ।
आइतबार कारोबार बन्द हुने समयमा नेप्से १०५ दशमलव ५५ अंकले बढेर २८ सय ८५ बिन्दुमा पुगेको छ । नेप्सेमा ३ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बैंकिङ, ट्रेडिङ, विकास बैंक, इन्भेस्टमेन्ट, हाइड्रोपावरलगायत सबै सूचकमा वृद्धि भएको छ । सबैभन्दा बढी विकास बैंकको सूचक ६ दशमलव ५६ अंकले बढेको छ ।
यो दिन कारोबारमा आएका ती धितोपत्रमध्ये पाँच ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था,लिवर्टी इनर्जी कम्पनी,शिवश्री हाइड्रोपावर,नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ९ दशलमव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
आइतबार एक करोड २१ लाखभन्दा बढी सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाखभन्दा बढीको कारोबार भएको छ । सरकारले स्थानीय तहको निर्वाचन जेठमै गर्ने तयारी गरेसँगै सेयर बजारमा सुधार देखिएको विश्लेषकहरूले बताएका छन् ।
यो दिन सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ । कम्पनीको रू. २६ करोड १५ लाख बराबरको शेयर खरीदविक्री भएको हो भने नेपाल दुरसञ्चार कम्पनीको रू. २३ करोड ६२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।











