चालु आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी प्राकृतिक व्यक्तिको आयमा लाग्ने आयकरको नयाँ दर विवरण आन्तरिक राजस्व विभागले सार्वजनिक गरेको छ। आयकर ऐन, २०५८ अनुसार व्यक्तिगत र दम्पत्तिका लागि विभिन्न पाँच वटा स्ल्याबसहित एकलौटी फर्मले बुझाउनुपर्ने करको दर निर्धारण गरिएको छ।
नयाँ व्यवस्था अनुसार, एकल वा दम्पत्ति दुवैको हकमा वार्षिक १० लाख रुपैयाँसम्मको करयोग्य आयमा १ प्रतिशत मात्र कर लाग्नेछ। यसैगरी, वार्षिक ४० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने व्यक्तिले भने अधिकतम २९ प्रतिशतसम्म कर बुझाउनुपर्ने व्यवस्था छ।
करको नयाँ दर संरचना यस प्रकार छ:
१० लाख रुपैयाँसम्मको आयमा: १%
१० लाखदेखि १५ लाख रुपैयाँसम्मको आयमा: १०%
१५ लाखदेखि २५ लाख रुपैयाँसम्मको आयमा: २०%
२५ लाखदेखि ४० लाख रुपैयाँसम्मको आयमा: २७%
४० लाख रुपैयाँभन्दा बढी आयमा: २९% (जसमा २७% मा थप २% विन्दु अतिरिक्त कर समावेश छ)
एकलौटी फर्म दर्ता भएका करदाता, निवृत्तिभरण (पेन्सन) प्राप्त गर्ने र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरूका लागि भने पहिलो १० लाख रुपैयाँको स्ल्याबमा १% कर लाग्ने छैन।
बचत र खर्चमा कर छुटको व्यवस्था
सरकारले करदातालाई विभिन्न क्षेत्रमा लगानी र खर्च गर्दा करयोग्य आयबाट घटाउन पाउने सुविधासमेत प्रदान गरेको छ। यस अन्तर्गत, जीवन बीमा प्रिमियममा वार्षिक ४० हजार रुपैयाँसम्म र स्वास्थ्य बीमामा २० हजार रुपैयाँसम्म करयोग्य आयबाट छुट पाउने व्यवस्था छ।
त्यस्तै, छोराछोरीको शिक्षण शुल्कबापत वार्षिक २५ हजार रुपैयाँ वा कुल खर्चको २५ प्रतिशतमध्ये जुन कम हुन्छ, सो रकम घटाउन पाइनेछ।
महिला र विशेष वर्गलाई सहुलियत
पारिश्रमिक आय मात्र भएका महिलाहरूलाई लाग्ने करमा १० प्रतिशत छुट दिइनेछ। दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीले क्षेत्र अनुसार ‘क’ देखि ‘ङ’ वर्गसम्म ५० हजारदेखि १० हजार रुपैयाँसम्म अतिरिक्त कर छुट पाउनेछन्। अपाङ्गता भएका व्यक्तिहरूका लागि भने छुटको सीमामा थप ५० प्रतिशत रकम घटाउन पाउने व्यवस्था गरिएको छ।
साना व्यवसायीका लागि कारोबार अनुसारको कर
वार्षिक ३० लाख रुपैयाँसम्म कारोबार र ३ लाख रुपैयाँसम्म आम्दानी गर्ने साना व्यवसायीले महानगर/उपमहानगरमा ७ हजार ५००, नगरपालिकामा ४ हजार र अन्य क्षेत्रमा २ हजार ५०० रुपैयाँ मात्र वार्षिक कर तिरे पुग्नेछ।
३० लाखदेखि १ करोड रुपैयाँसम्म कारोबार गर्ने व्यवसायीले वस्तुको कारोबारमा १ प्रतिशत र सेवाको कारोबारमा २ प्रतिशत कर बुझाउनुपर्नेछ।
घरजग्गा र सेयर कारोबारमा पुँजीगत लाभकर
घरजग्गा बिक्री गर्दा स्वामित्व अवधि ५ वर्षभन्दा बढी भएमा ७.५ प्रतिशत र ५ वर्षभन्दा कम भएमा १० प्रतिशत पुँजीगत लाभकर लाग्नेछ। सेयर बजारमा ३६५ दिनभन्दा बढी समय सेयर होल्ड गर्नेलाई ७.५ प्रतिशत र सोभन्दा कम समय होल्ड गर्नेलाई १० प्रतिशत कर लाग्ने व्यवस्था छ।
डिजिटल सेवा र सामाजिक सञ्जालमा कर
नेपाल बाहिर सफ्टवेयर वा विद्युतीय सेवा उपलब्ध गराए बापत विदेशी मुद्रामा भुक्तानी पाउने व्यक्ति वा सामाजिक सञ्जालमा श्रव्यदृश्य सामग्री (युट्युब, टिकटकसहित) अपलोड गरी आम्दानी गर्नेहरूले प्राप्त रकममा ५ प्रतिशत कर बुझाउनुपर्नेछ।
सवारी साधन कर
भाडाका सवारी साधनका धनीले इन्जिन क्षमता (सीसी) र किलोवाटका आधारमा वार्षिक ६ हजार ५ सयदेखि १७ हजार ५ सय रुपैयाँसम्म कर बुझाउनुपर्नेछ। विद्युतीय सवारीको हकमा भने क्षमता अनुसार ४ हजार देखि ९ हजार ५ सय रुपैयाँसम्म कर निर्धारण गरिएको छ।














