×
Lagani
Lagani Shiksha gif
व्यवसायको आइडिया भएका युवालाई बुटक्याम्पको अवसर, उत्कृष्ट तीनले सवा लाख अनुदान पाउने



नयाँ व्यवसाय सुरु गर्ने योजना बनाइरहेका वा सञ्चालनमा रहेको उद्यमलाई थप विस्तार गर्न चाहने युवाका लागि ‘UDAAN Digital Entrepreneurship Bootcamp’ मा आवेदन खुला गरिएको छ। नेपालका सातै प्रदेशमा बसोबास गर्ने १८ देखि ३५ वर्ष उमेरका नेपाली युवाले नवीन, प्रविधिमैत्री तथा बजारमा विस्तार गर्न सकिने व्यावसायिक अवधारणासहित कार्यक्रममा आवेदन दिन सक्नेछन्।

Youth Innovation Lab (YI-Lab) अन्तर्गत सञ्चालन हुने बुटक्याम्पमा प्राप्त आवेदनमध्ये देशभरबाट १४० उद्यम तथा व्यावसायिक आइडिया छनोट गरिनेछन्। छनोट भएका सहभागीलाई तीनदिने प्रादेशिक बुटक्याम्पमा सहभागी गराई व्यवसाय विकास, डिजिटल सीप, बजार रणनीति तथा उद्यम सञ्चालनसँग सम्बन्धित प्रशिक्षण प्रदान गरिनेछ। प्रादेशिक चरणबाट उत्कृष्ट १४ उद्यम राष्ट्रियस्तरको बुटक्याम्पका लागि छनोट हुनेछन्।

Lagani Shiksha gif
sharehubapk व्यवसायको आइडिया भएका युवालाई बुटक्याम्पको अवसर, उत्कृष्ट तीनले सवा लाख अनुदान पाउने

राष्ट्रिय बुटक्याम्पमा पुगेका उद्यमले स्थापित उद्यमी, विषयगत विज्ञ तथा लगानीकर्तासँग प्रत्यक्ष सिकाइ र मेन्टरसिपको अवसर पाउनेछन्। उनीहरूले आफ्नो व्यवसायिक अवधारणा परिष्कृत गर्ने, बजारको सम्भावना मूल्यांकन गर्ने, वित्तीय योजना तयार गर्ने र सम्भावित लगानीकर्ता वा साझेदारसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्ने सीप विकास गर्न सक्ने कार्यक्रमको अपेक्षा छ।

राष्ट्रिय चरणको अन्तिम ‘Pitch Day’ बाट उत्कृष्ट तीन उद्यम छनोट गरिनेछन्। ती प्रत्येक उद्यमलाई उत्पादन विकासका लागि एक लाख २५ हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइनेछ। यसअनुसार तीन उद्यमले कुल तीन लाख ७५ हजार रुपैयाँ अनुदान पाउनेछन्। अनुदान रकममा प्रचलित सरकारी नियमअनुसार कर कट्टा हुनेछ।

अन्तिम तीन विजेताको सहयोग नगद अनुदानमा मात्र सीमित रहने छैन। उनीहरूले तीनदेखि छ महिनासम्म इन्क्युबेसन तथा मेन्टरसिप सहयोगसमेत पाउनेछन्। यस अवधिमा आफ्नो उत्पादन वा सेवा विकास गर्ने, बजारमा लैजाने तयारी गर्ने, व्यवसायिक मोडेल सुधार गर्ने तथा उद्यम विस्तारका लागि आवश्यक रणनीति निर्माणमा उनीहरूलाई सहयोग गरिनेछ।

कार्यक्रममा नेपालमा बसोबास गर्ने १८ देखि ३५ वर्ष उमेरका नेपाली नागरिक सहभागी हुन सक्नेछन्। विशेषगरी विद्यार्थी, करिअरको प्रारम्भिक चरणमा रहेका युवा तथा उद्यमशीलता, व्यवसाय विकास, प्रविधि र डिजिटल समाधानमा रुचि राख्ने युवालाई आवेदन दिन प्रोत्साहित गरिएको छ। डिजिटल प्रविधि प्रयोग गर्ने, ठूलो बजारमा विस्तार हुन सक्ने तथा भविष्यमा रोजगारी सिर्जना गर्ने सम्भावना भएका नवीन व्यावसायिक अवधारणालाई प्राथमिकता दिइने जनाइएको छ।

आवेदकले व्यक्तिगत रूपमा वा समूह बनाएर आवेदन दिन सक्नेछन्। समूहमा बढीमा तीन जना सदस्य राख्न पाइनेछ। कम्तीमा एक जना महिला सदस्य समावेश भएको टोलीले छनोट मूल्यांकनमा थप एक अंक पाउने व्यवस्था गरिएको छ। महिलाले नेतृत्व गरेका टोली, फरक–फरक शैक्षिक वा व्यावसायिक पृष्ठभूमिका सदस्य रहेको समूह तथा सीमान्तकृत, आदिवासी, दुर्गम क्षेत्र वा अवसरबाट पछाडि परेका समुदायका युवाको सहभागितालाई पनि विशेष रूपमा प्रोत्साहन गरिएको छ।

बुटक्याम्पमा सहभागी हुन व्यवसाय दर्ता भइसकेको हुनुपर्ने अनिवार्य व्यवस्था छैन। प्रारम्भिक अवधारणाको चरणमा रहेको व्यवसायिक आइडियादेखि भर्खर सञ्चालनमा आएको वा पहिले नै सञ्चालन भइरहेको उद्यमसम्मले आवेदन दिन सक्नेछन्। यसले व्यवसाय सुरु गर्ने सोच बनाइरहेका युवासमेत कार्यक्रमको प्रतिस्पर्धामा सहभागी हुन सक्ने बाटो खुला गरेको छ।

तीनदिने प्रादेशिक बुटक्याम्पमा सहभागी १४० उद्यमले व्यवसाय निर्माण र डिजिटल सीपसम्बन्धी व्यावहारिक प्रशिक्षण पाउनेछन्। राष्ट्रिय चरणमा पुग्ने १४ टोलीले थप गहन मेन्टरसिप, व्यावसायिक मार्गदर्शन र उद्यमी तथा विज्ञसँग अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त गर्नेछन्। कार्यक्रममा वित्तीय संस्था, सहकारी, सरकारी निकाय तथा अन्य युवा उद्यमीसँग सम्पर्क र नेटवर्किङ विस्तार गर्ने अवसरसमेत उपलब्ध हुने जनाइएको छ।

आवश्यकताका आधारमा छनोट भएको टोलीका एक सदस्यका लागि यात्रा तथा बसोबासमा सहयोग उपलब्ध गराइनेछ। सहभागीले सातै प्रदेशका युवा उद्यमीबीच अनुभव आदानप्रदान गर्नुका साथै ‘Entrepreneurship Adda’ लगायतका सिकाइ गतिविधिमा सहभागी हुन पाउनेछन्। उनीहरूलाई सहभागिताको प्रमाणपत्र दिइनेछ भने UDAAN, Youth Innovation Lab, साझेदार संस्था तथा युरोपेली संघसँग सम्बन्धित कार्यक्रम र सामाजिक सञ्जालमार्फत आफ्नो उद्यम चिनाउने अवसरसमेत प्राप्त हुनेछ।

आवेदन अनलाइनमार्फत दिनुपर्नेछ। आवेदन फाराममा आवेदक वा टोलीको विवरणसँगै व्यवसायिक आइडिया, त्यसले समाधान गर्न खोजेको समस्या, प्रस्तावित समाधान, सम्भावित ग्राहक तथा उक्त व्यवसाय सुरु गर्न चाहनुको कारण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। व्यवसायसँग सम्बन्धित ‘concept note’ वा ‘pitch deck’ तयार भइसकेको भए आवेदनसँगै समावेश गर्न प्रोत्साहित गरिएको छ।

आवेदन बुझाउने क्रममा सहभागीले कार्यक्रमको आचारसंहिता, दुर्व्यवहारविरुद्धको व्यवस्था, बौद्धिक सम्पत्तिको सम्मान तथा प्रविधिको जिम्मेवार र नैतिक प्रयोगसम्बन्धी सर्तमा समेत सहमति जनाउनुपर्नेछ। आवेदन Youth Innovation Lab को UDAAN Bootcamp वेबसाइटमार्फत दिन सकिनेछ। आवेदनको अन्तिम मिति २८ अगस्ट २०२६ अर्थात् भदौ १२ गते तोकिएको छ। थप जानकारीका लागि [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ।

UDAAN अर्थात् ‘Unleashing Digital Acceleration and Ambition of Nepali Youth’ युरोपेली संघको आर्थिक सहयोगमा सञ्चालन भइरहेको ४८ महिनाको कार्यक्रम हो। नेपाली युवा महिला तथा पुरुषको डिजिटल क्षेत्र र रोजगारी बजारमा सहभागिता बढाउनुका साथै डिजिटल साक्षरता, सीप विकास, नवप्रवर्तन र भविष्यको श्रम बजारका लागि आवश्यक तयारीमा सहयोग गर्नु कार्यक्रमको उद्देश्य रहेको छ।

कार्यक्रम Youth Innovation Lab, Heifer Project Nepal, Nepal Applied Mathematics and Informatics Institute for Research (NAAMII) र Women in Animation Nepal को साझेदारीमा सातै प्रदेशमा सञ्चालन भइरहेको छ। UDAAN कार्यक्रमलाई Pathshala, Karmashala, Karyashala र Nitishala गरी चार मुख्य आधारमा विभाजन गरिएको छ।

हाल आवेदन खुला गरिएको UDAAN Digital Entrepreneurship Bootcamp ‘Karyashala’ अन्तर्गतको उद्यम विकास कार्यक्रम हो। प्रारम्भिक चरणमा रहेका युवाका व्यावसायिक अवधारणालाई तालिम, मेन्टरसिप, प्रस्तुतीकरण, नेटवर्किङ र इन्क्युबेसनमार्फत बजारमा प्रतिस्पर्धा गर्न सक्ने उद्यममा रूपान्तरण गर्न सहयोग गर्नु बुटक्याम्पको मुख्य लक्ष्य रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस