लन्डन, १७ साउन । विश्वभरि भारतका प्रसिद्ध हीराहरूको चर्चा हुँदा ‘कोहिनूर’ को नाम सबैभन्दा पहिले आउँछ।
बेलायती राजपरिवारले यो हीरा प्राप्त गरेको थियो र हाल यो ‘टावर अफ लन्डन’ मा राखिएको छ। तर, के तपाईंलाई थाहा छ, कोहिनूरभन्दा दोब्बर आकारको अर्को एउटा हीरा अझै पनि भारतमै छ भन्ने, हो यो हीरा ‘जेकब डायमन्ड’ का नामले बिश्वप्रसिद्द छ ।
यो अमूल्य हीरा हैदराबादका निजामको थियो, जो कुनै समय विश्वकै सबैभन्दा धनी व्यक्ति थिए। यो हीरा कसरी निजामको स्वामित्वमा आयो भन्ने कथा निकै रोचक छ । साथै, यो हीरा वर्षौंसम्म एउटा जुत्ताभित्र कसरी रह्यो भन्ने किस्सा पनि उत्तिकै चाखलाग्दो छ।
‘जेकब डायमण्ड’ को कथा तीन व्यक्तिहरूको कथा हो, हैदराबादका छैटौं निजाम महबुब अली खान, उनका आर्मेनियाली सेवक आबिद र अलेक्जेन्डर माल्कम जेकब नाम गरेका एक रहस्यमय हीरा व्यापारीको बिचमा यो हिराको इतिहास घुम्छ । सन् १८९० को दशकमा यस हीराले अन्तर्राष्ट्रिय स्तरमा ठूलो खैलाबैला मच्चाएको थियो।
१८४.७५ क्यारेट तौल भएको ‘जेकब डायमण्ड’ को आकार ‘कोहिनूर’ भन्दा लगभग दोब्बर छ र यो विश्वकै सबैभन्दा ठूला काटिएका हीराहरू मध्ये एक पनि हो। युरोपमा काटिनु अघि यसको तौल ४०० क्यारेटभन्दा बढी रहेको बताइन्छ। ‘जेकब डायमण्ड’को वास्तविक उत्पत्तिस्थल अझै पनि अज्ञात छ। यद्यपि यो भारतको गोलकोन्डा खानीबाट आएको मानिन्छ तर विशेषज्ञहरूले यस दाबी माथि शंका व्यक्त गर्ने गर्छन्।
विशेषज्ञहरूका अनुसार यो हीरा गोलकोन्डाका खानीहरूबाट आएको सम्भावना कम देखिन्छ किनकि त्यस समयसम्म ती खानीहरू प्रायः रित्तिइसकेका थिए। उनीहरूले दक्षिण अफ्रिकी खानीहरूलाई यसको सम्भावित स्रोतका रूपमा औंल्याएका छन् यद्यपि यस विषयमा निश्चित रूपमा केही भन्न सकिँदैन।
माल्कम ज्याकोबले यो हीरा एम्स्टर्डमस्थित गहनाको एक सिन्डिकेटबाट खरिद गरेका थिए। ज्याकोब टर्की मूलका एक रहस्यमय हिरा तथा गहना व्यवसायी थिए, जसका बारेमा अनेकौं किस्साहरू प्रचलित थिए। उनले उक्त हीरा हैदराबादका छैटौं निजाम महबुब अली खानलाई बेच्ने योजना बनाएका थिए। निजामलाई पनि त्यो हीरा किन्नका लागि ज्याकोबले निजामका निजी सेवक अल्बर्ट आबिदको सहयोग लिएका थिए । निजामले आबिदमाथि पूर्ण विश्वास गर्थे र उनकै सुझावमा हीरा हेर्न सहमत भए। त्यसबेला उक्त हीरा लन्डनमा थियो। निजामले त्यसलाई भारत ल्याउन त्यो बेलाको समयमा पनि २३ लाख रुपैयाँ जम्मा गरे तर साथै यो सर्त पनि राखे कि त्यसलाई स्वीकार गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णय पूर्ण रूपमा उनकै हुनेछ।
यसैबीच, बेलायती सरकारले निजामको चासो बारे थाहा पायो र उनलाई त्यो हीरा नकिन्न दबाब दिन थाल्यो। तर पनि सन् १८९१ को जुलाईमा ज्याकोबले निजाम समक्ष त्यो हीरा प्रस्तुत गरे। निजामले त्यसलाई हातमा लिए र भने, ‘मलाई यो मन परेन।’ ज्याकोबलाई यस्तो लाग्यो कि उनको जीवनकै सबैभन्दा ठूलो कारोबार असफल भयो।
केही दिन पछि ज्याकोबले भुक्तानी स्थानान्तरण गर्न आफ्नो बैंकलाई निर्देशन दिए। ज्याकोबको दाबी थियो कि असन्तुष्टि व्यक्त गर्नु वास्तवमा अंग्रेजहरूलाई झुक्याउने एउटा चाल मात्र थियो। यद्यपि, निजामले जम्मा गरिएको रकम फिर्ता गर्न माग गरे तर ज्याकोबले सो माग अस्वीकार गरे। यसले लामो कानुनी लडाइँको रूप लियो, जुन त्यो बेला पनि विश्वव्यापी चर्चाको विषय बन्यो। यो घटनाले कुनै भारतीय शासकले बेलायती अदालतमा गवाही दिएको पहिलो दृष्टान्त पनि कायम गर्यो।
यो लडाइँ यसमा संलग्न सबैका लागि हानिकारक साबित भयो। उच्च अदालतले धोखाधडीको आरोपबाट ज्याकोबलाई सफाइ दिए पनि निजामलाई बाँकी रकम नतिरी हीरा आफूसँगै राख्ने अनुमति दियो। ज्याकोबले त्यो हिराका कारण आफ्नो प्रतिष्ठा, सम्पत्ति र धनी ग्राहक सबै कुरा गुमाए। अन्ततः सो हिरा ‘जेकब डायमण्ड’को नामले विश्व प्रसिद्द भयो ।
तर, हैदरावादमा भने उक्त हीरालाई श्रापसँग जोडेर हेर्न थालियो र मानिसहरूले यसलाई अशुभ मान्न थाले। विभिन्न विवाद र कानुनी झमेलाहरूका माझ, निजामले पनि यसलाई उस्तै दृष्टिकोणले हेर्न थालेका थिए । त्यसपछि उनले त्यो हीरासँग एउटा यस्तो काम गरे, जुन कल्पनाभन्दा बाहिरको थियो, उनले त्यसलाई कपडामा बेरे अनि एउटा पुरानो जुत्ता भित्र राखे र दरबारको दराजको सबैभन्दा भित्री भागमा लुकाएर राखिदिए।
सन् १९११ मा निजाम महबुब अली खानको निधन पछि हैदराबादको राजगद्दी उनका छोरा मिर उस्मान अली खानले सम्हाले। उनी हैदराबादका सातौं तथा अन्तिम निजाम थिए। उस्मान अली खानले यो हीरा आफ्ना बुबाको जुत्ता भित्र लुकाइएको अवस्थामा फेला पारेका थिए। उनले उक्त हीराको प्रयोग गर्ने तरिका निकै रोचक थियो, उनले १८४ क्यारेटको त्यो बहुमूल्य रत्नलाई कार्यालयको सामान्य सामग्री अर्थात स्टेसनरी बाहेक अरू केही नठानी आफ्नो डेस्कमा ‘पेपरवेट’ अर्थात कागज थिचेर राख्ने वस्तुका रूपमा मात्रै प्रयोग गर्ने गरेका थिए ।
अन्ततः, निजामको परिवारले यो हीरा एउटा ट्रस्टलाई हस्तान्तरण गर्यो। पछि, यसलाई बिक्री गर्ने प्रयास हुँदा भारत सरकारले हस्तक्षेप गर्यो र निजामका गहनाहरूलाई राष्ट्रिय सम्पदा घोषणा गर्यो। फलस्वरूप, यसलाई विदेशी खरिदकर्ताहरूलाई बिक्री गर्न नमिल्ने भयो। अन्ततः, सन् १९९५ मा भारत सरकारले निजामका अन्य गहनाहरूसँगै यसलाई पनि खरिद गर्यो। हाल यो हीरा मुम्बईस्थित रिजर्भ बैंक अफ इन्डियाको भल्टमा राखिएको छ, यसलाई कहिलेकाहीँ हुने सार्वजनिक प्रदर्शनीका लागि मात्र बाहिर निकालिने गरिएको छ।















