भरतपुर महानगरपालिका वडा नं. १० स्थित लड्स बिजनेस कम्प्लेक्स होटल प्रा.लि.मा गृहमन्त्री सुधन गुरुङको बिहानको खाजामा माछाको काँडा भेटिएको घटनापछि गरिएको अनुगमन र जाँचका आधारमा होटललाई रु. ३ लाख जरिवाना गरिएको छ।
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन आएका गृहमन्त्री गुरुङ बस्दै आएको उक्त होटलमा बिहान खाजाको रूपमा परोसेको अम्लेटमा माछाको काँडा फेला परेको थियो। घटनापछि उनले तत्काल होटल व्यवस्थापनसँग छलफल गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखलाई आवश्यक कारबाहीका लागि जानकारी गराएको विवरण सार्वजनिक भएको थियो।
त्यसपछि प्रारम्भिक चरणमा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले अम्लेट तयार गर्ने दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। प्रहरीका अनुसार उपभोक्ताको खानामा अखाद्य वस्तु भेटिएको विषयमा प्रारम्भिक अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको र पछि छाडिएको थियो।
तर सो घटनापछि गरिएको विस्तृत अनुगमनमा होटलको खाद्य सुरक्षा र गुणस्तरसम्बन्धी थप कैफियतसमेत भेटिएको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारीसहितको निरीक्षण टोलीले गरेको जाँचका क्रममा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान नदिएको तथा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गरी खाद्य सामग्री उपलब्ध गराएको निष्कर्ष निकालिएको हो।
उक्त अनुगमन प्रतिवेदनअनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा (२) को खण्ड (क) तथा दफा ३८ को खण्ड (ङ) उल्लङ्घन भएको ठहर गरिएको छ। सोही आधारमा निरीक्षण अधिकृतको निर्णयअनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम होटललाई रु. ३ लाख (अक्षरेपी तीन लाख मात्र) जरिवाना गरिएको हो।
साथै, अनुगमन क्रममा कैफियत देखिएका खाद्य सामग्री नष्ट गर्ने निर्णयसमेत गरिएको छ। प्रशासनले आगामी दिनमा होटल तथा रेस्टुरेन्टहरूले खाद्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको जनाएको छ।
उक्त घटना सार्वजनिक भएपछि लड्स बिजनेस कम्प्लेक्स होटल प्रा.लि.मा थप अनुगमन र निगरानी बढाइएको प्रशासन स्रोतले जनाएको छ।

















