बैतडीमा एक सामुदायिक विद्यालयका प्रधानाध्यापकमाथि दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
शिवनाथ गाउँपालिका–४ स्थित पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझालाई कालोमोसो दलेर सार्वजनिक रूपमा अपमान गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ३८ वर्षीया तारा महता, उनका श्रीमान् प्रेम महता, मोहन महता र शकुन्तला महता रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रबार दिउँसो घरबाटै पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने डीआईजी रानाले जानकारी दिएका छन्।
पिपलकोट माध्यमिक विद्यालयमा शिक्षक पदका लागि तारा महताले परीक्षा दिएकी थिइन्। उनी पहिलो चरणकै परीक्षामा अनुत्तीर्ण भएपछि महता परिवार आक्रोशित बनेको पीडित पक्षको आरोप छ। त्यसपछि प्रधानाध्यापक ओझामाथि कालोमोसो दलिएको, जुत्ताको माला लगाइएको र सार्वजनिक रूपमा बेइज्जत गरिएको आरोप लगाइएको छ।
ओझाको घाँटीमा ‘म अपराधी हुँ’ भन्ने पम्प्लेटसमेत झुण्ड्याइएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चर्चामा आएको थियो। तस्वीर भाइरल भएपछि प्रहरीले घटनामा चासो देखाउँदै संलग्न भनिएका व्यक्तिहरूलाई पक्राउ गरेको हो।









