टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले बैशाख २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँट गरिसकेपछि, कम्पनीले अब सर्वसाधारण लगानीकर्ताहरूलाई शेयर खरिदको अवसर प्रदान गर्न लागेको हो। यसअघि कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबरको ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
कुल कित्तामध्ये १२ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि, ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, १ लाख ५१ हजार ५३३ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६० हजार ६१३ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि बाँडफाँट भइसकेको छ।
नयाँ निष्काशनमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। शेयर निष्काशन बैशाख २३ गतेबाट सुरु भई ढिलोमा जेठ ६ गते बन्द हुनेछ।
यस आईपीओको रेटिङ्गका क्रममा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले निर्वाह गर्नेछ। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूमा सि-आस्बा प्रणालीमार्फत आवेदन प्रक्रियामा सहभागी हुन सक्नेछन्।










